गोरेसँग एक पटक मात्र भेट भएको छ : एसएसपी खत्री

गुगलपाटी संवाददाता १७ जेठ, काठमाडौं
१७ जेष्ठ २०७५ १४:५९

३३ किलो सुन तस्करीमा मुछिएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले आरोप अस्वीकार गरेका छन् । जिल्ला अदालत, मोरङमा बिहीबार बयान दिँदै उनले आफूलाई फसाउन खोजिएको दाबी गरेका हुन् । उनले आफूलाई मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेले फसाउन खोजेको आरोप लगाएका उनले इन्कारी बयान दिएका हुन् ।
आफुलाई फसाउन खोजिएको भन्दै खत्रीले भनेका छन् ,‘मैले पैसा पनि लिएको पनि छैन । डायरीमा मेरो नाम किटान गरिएको छैन । ‘एसएसपी त प्रहरीमा म मात्रै छु र ? फसाउने चाल मात्र हो ।’
गोविन्द निरौलाको साथीको छोरा भएको नाताले मात्र गोरेलाई चिनेको बयान दिएका उनले एक पटक मात्र गोरेसँग भेट भएको बताए । ‘एक दिन विमानस्थलको गेटमा केटाहरुसँग झगडा गरेको भेटेको थिएँ । त्यतिवेला गोरेलाई हप्काएको थिएँ, त्यसपछि भेट भएको छैन ।’
तस्करीको भनिएको सुन समेत कहाँ छ पत्तो नलागेको भन्दै उनले हुँदै नभएको सुनको कसरी तस्कर हुन्छ भनेर अदालतमा प्रस्श्न गरेको स्रोतले जानकारी दिएको छ ।
उनले बिहीबारै जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका थिए ।
प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोर’ ले खत्री विमानस्थलमा रहँदादेखि एक किलो सुन पास गराउँदा ५० हजार लिने गरेको बयान दिएका थिए । खत्रीसँग सेटिङ मिलाउने भने छिरिङ वालेङ घले भएको उनको बयान थियो ।