प्रदेश तीनको नीति तथा कार्यक्रम, पेट्रोल गाडी बन्द, सुरुङमार्ग निर्माण गरिने
गुगलपाटी संवाददाता हेटौंडाप्रदेश तीनको नीति तथा कार्यक्रममा महत्वकांक्षि योजनाहरु प्रस्तुत भएका छन् । प्रदेश प्रमुख अनुराधा कोईरालाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पेट्रोल गाडी बन्द गर्नेदेखि दाइजोरहित प्रदेश निर्माण गर्ने लगायतका योजनाहरु रहेका छन् । आगामी आर्थिक आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा ‘सुखी नेपाली समृद्ध नेपाल’ बनाउने उदेश्य पुरा गर्दै समाजवादतर्फको बाटो पहिल्याउने उल्लेख छ ।
दाइजोरहित प्रदेश बनाउन सबै जनप्रतिनिधि एवं राष्ट्रसेवकले दाइजो नलिने नदिने नीति अवलम्वन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । भने वि.सं. २०७८ सालसम्म बाल बिवाह मुक्त प्रदेश बनाउने र २०८० सम्ममा बाल श्रम पूर्ण निषेध गरिने उल्लेखछ ।
स्थानीय श्रोत तथा सीपमा आधारित एक पालिका एक विशेष उत्पादन, एक टोल एक उद्यम तथा व्यवसाय प्रर्वद्धन कार्यक्रम संचालन गरिनेछ कार्यक्रममा उल्लेख छ । नीति तथा कार्यक्रममा प्रदेशको प्रति व्यक्ति विद्युत खपत क्षमतालाई आगामी पाँच वर्षभित्र विकसित राष्ट्रको औसतमा पुर्याईने घोषणा गरिएको छ । “एक घर एक धारा” कार्यक्रम पाँच वर्षभित्र सम्पन्न गर्न यसै वर्षबाट कार्यान्वयन प्रक्रिया शुुरु गरिने भएको छ ।
प्रदेश गौरवको आयोजनामा सुरुङमार्ग
कुलेखानी भिमफेदी सुरुङमार्गलाई प्रदेश गौरवको आयोजनाको रुपमा अघि बढाईने भएको छ । पोष्ट बहादुर बोगटी भिमफेदी–कुलेखानी सुरुङ मार्ग परियोजना नाम दिइएको उक्त मार्ग निर्माणमा आगामी आर्थिक वर्षको बजेटले समेटिने भएको हो । साथै प्रदेशका सबै जिल्ला छुने पुष्पपाल प्रदेश चक्रपथलाई प्रदेश गौरवको योजनाको रुपमा अघि बढाइने भएको छ । हेटौंडा–फाखेल–फर्पिङ सडक, काठमाडौं साँखु–फट्केश्वर सुरुङ्ग मार्ग निर्माणलाई प्राथमिकता दिइ संघसँग समन्वय गरी कार्र्य अगाडि वढाइने उल्लेख छ ।
आगामी आर्थिक वर्ष २०७५÷०७६ भित्र प्रदेशलाई पूर्ण साक्षर प्रदेश घोषणा गर्ने प्रदेश प्रमुख कोईरालालो घोषणा गरेको नीति तथा कार्यक्रमा भनिएको छ । ‘साथै आगामी पाँच वर्षभित्र प्रदेश विश्वविद्यालय स्थापना र सञ्चालन गरिनेछ’,प्रदेश प्रमुख कोईरालाले भनिन् ।
आगामी पाँच वर्ष भित्र काठमाण्डौंलाई धुलो रहित बनाउने प्रदेश सरकारको लक्ष्य छ । संघीय सरकार र स्थानीय सरकारसँगको समन्वयमा काठमाडौंको प्रदूषणलाई न्यूनतम विन्दुमा पु¥याउने लक्ष्य लिएको नीति तथा कार्यक्रमाम उल्लेख छ ।
साथै आगामी आर्थिक वर्ष २०७५÷०७६ लाई उद्योग बर्ष घोषणा गरिने भएको छ । प्रदेशलाई लगानीमैत्री बनाउन लगानीकर्तालाई जमिन, पानी, बिजुली, प्रवेश मार्ग सहज उपलव्ध गराइने भएको छ । सरकारले वि.सं. २०८५ बैशाख १ गतेदेखि काठमाडौं उपत्यका, चितवन, हेटौंडा, बनेपा, धुलिखेल र पनौतिमा पेट्रोलियम पदार्थमा आधारित सवारी साधनमा पूर्ण प्रतिबन्ध लगाउने घोषणा गरेको छ । साथै आगामी तीन बर्षभित्र यस प्रदेशलाई प्लाष्टिक झोलामुक्त प्रदेश बनाइने भएको छ ।
प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्रत्येक स्थानीय तहमा १५ देखि ५० शैयाको अस्पताल निर्माण गरिने उल्लेख छ । विद्यालयमा अध्ययनरत छात्रा महिनावारी हुँदा अनुपस्थित हुने अवस्था घटाउन माध्यमिक विद्यालयमा नर्सको ब्यवस्था गरिने भएको छ ।