कम्युनिष्ट शासनमा समृद्धि आउनै सक्दैन : बानियाँ
गुगलपाटी संवाददाता १९ जेठ, हेटौँडानेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवम् जिल्ला सभापति ईन्द्रबहादुर बानियाँले कम्युनिष्ट शासनमा समृद्धि आउन नसक्ने दाबी गरेका छन् । मकवानपुरको फापरवारी गाउँपालिका ७ नम्बर वडा भेलामा बोल्दै उनले कुरा बढि र काम कम गर्ने कम्युनिष्टहरुको शासनमा देशमा समृद्धि आउन नसक्ने दावि गरेका हुन् ।
उनले कांग्रेसले विगतमा गरेको बाचा पुरा गरेको भन्दै देशको समृद्धिका लागि पनि कांग्रेसले नै पहल गर्ने बताए । देशका ठूला परिवर्तनमा नेतृत्व गरेको कांग्रेसको राजनैतिक धारमा कम्युनिष्टहरु आउनु कांग्रेसको राजनैतिक विजय भएको बताए । आफु विगतदेखि नै जिल्लाको विकासमा प्रतिवद्ध भएर लागेको स्मरण गर्दै उनले आगामी दिनमा पनि स्थानीय समस्या समाधानमा लागि रहने प्रतिवद्धता व्यक्त गरे ।
वडा सभापति ओमनाथ पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी जिल्ला सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपिलाल विक, जिल्ला सदस्य चोकबहादुर ठाडा, ७ नम्बर वडा अध्यक्ष डिल्ली घोरासैनी, वडा सदस्य समिक्षा विक, बाग्मति गाउँपालिका सभापति फणिन्द्र तिमल्सिना, तत्कालिन फापरवारी सभापति शम्भु राई, शिक्षक संघ फापरवारी सभापति जय नेपाल थापा, हर्कबहादुर डिम्डुङ, शंकर पराजुली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
राप्रपा जिल्ला सदस्यसहित ३ सय जना काँग्रेसमा
७ नम्बर वडा भेलामा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला सदस्य एवं समानुपातिक उम्मेदवार डम्बर विक, नेपाल लोकतान्त्रिक फोरम युवा संघका जिल्ला अध्यक्ष शेरबहादुर रानासहित ३ सय जना कांग्रेस प्रवेश गरेका छन् । भेलामा राप्रपाबाट १ सय ६५ र १ सय ३५ जना नेकपा कम्युनिष्ट पार्टी ९नेकपा० बाट कांग्रेसमा प्रवेश गरेको भेला आयोजकले जनाएको छ । कार्यक्रममा बोल्दै नेता विकले राप्रपामा परिवार हावि रहेको र पार्टीलाई क्लवको रुपमा संचालन गर्ने प्रवृत्तिका कारण आफुले राप्रपा त्याग्नु परेको बताए ।