पत्रकार खड्काको यो उदाहरणीय कार्य
गुगलपाटी संवाददाता चरिकोट,१९ जेठपत्रकारले समाजका बिषयवस्तुहरुलाई उठान गर्न, प्रचार गर्न र खवरदारी गर्न सक्छ । तर, आर्थिकसँग जोडिएको पुननिर्माण जस्तो जटिल काम एउटा श्रमजीवी पत्रकारको एक्लो प्रयासमा त्यति सहजै सम्भव हुने कुरो होईन भन्ने धारणा भएपनि पत्रकारको पहलमा ठूला परिवर्तन भएका छन् । राज्यले स्थायी आवास पुननिर्माणका लागि अनुदान दिँदा समेत पुननिर्माणको कामले सार्थक गति लिन नसकेका बेला एक्लो प्रयासमा नमूना बस्ती निर्माण चुनौतिपूर्ण कुरा हो । यद्धपि, यहि चुनौतीपूर्ण कामलाई दोलखाका एक पत्रकारले पूरा गरेर देखाएका छन् ।
दोलखाको बैतेस्वर गाउँपालिका वडा नम्बर ३ यार्सा (साविक मिर्गे गाविस वडा नम्बर ९) पुननिर्माणको कुरा । यार्सामै जन्मिएका र विगत २० बर्षदेखि पत्रकारितामा क्रियाशिल पत्रकार लक्ष्मण खड्काको पहल र अगुवाईमा यार्सा गाउँको पुननिर्माण सम्पन्न भएको छ । तीन बर्षअघि अर्थात २०७२ साल बैशाखको बिनाशकारी भूकम्पले ध्वस्त भएको यार्सा गाउँले अहिले नयाँ मुहार पाएको छ । सिँगो गाउँलाई तिन वटा सडकले चिरेर दाँयाबाँया निर्माण गरिएका चिटिक्क परेका घरहरु । त्यो पनि एउटै डिजाईनमा ईन्टरलक सिस्टमको इट्टाको प्रयोग गरी नमूना बस्तिको शैलीमा निर्माण गरिएका घरहरु, गाउँको वीच भागमा दुई वटा भवन सहितको प्राथमिक बिद्यालय ।
अमेरिकाका ब्यापारी डा. गेरी योङको साथले आफूले पीडितहरुको घाउमा मलम लगाउन सफल भएको पत्रकार खड्काले बताए । उनले योङको हालै निधन भएकाले कारण घर हस्तान्तरण कार्यक्रमा भने उनको उपस्थिति खड्किएको बताए । पत्रकार खड्कको पहलमा भएको यो कार्यको सो गाउ र दोखलावासीले प्रसंशा गरेका छन् ।