३ नम्बर प्रदेशसभालाई सोमबार प्रधानमन्त्रीले सम्बोधन गर्ने

हेटौंडा, २० जेठ हेटौंडा
२० जेष्ठ २०७५ ००:३५

३ नम्बर प्रदेशको प्रदेशसभा बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी सोमबार सम्बोधन गर्ने भएका छन् ।

२१ गते सोमबार ११ बजेबाट सुरु हुने बैठकमा प्रधानमन्त्रीको सम्बोधनको कार्यक्रम राखिएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठका अनुसार प्रधानमन्त्रीले देशको सातवटै प्रदेशको प्रदेशसभामा सम्बोधन गर्ने कार्यक्रम अनुसार प्रधानमन्त्री प्रदेशसभामा सम्बोधन गर्न हेटौंडा आउन थालेका हुन् । प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको बताउँदै सभामुख श्रेष्ठले त्यसको लागि आवश्यक तयारीसमेत सुरु गरिएको जानकारी दिए । संविधान र प्रदेश ३ को प्रदेश सभा नियमावलीमा प्रदेश सभालाई प्रधानमन्त्रीले संवोधन गर्ने व्यवस्था नरहेको भन्दै केही प्रदेशसभा सदस्यहरुले प्रश्न उठाएका छन् ।

यस्तै प्रदेशसभाका कतिपय प्रदेशसभा सदस्यहरुले प्रधानमन्त्रीले प्रदेशसभालाई संवोधन गर्ने भनेर औपचारिकरुपमा जानकारी नआएकोसमेत बताएका छन् । प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामाले प्रदेशसभालाई प्रधानमन्त्रीले संबोधन गर्ने बारेमा औपचारिक जानकारी नआएको र अनौपचारिकरुपमा सुनेका मात्रै बताए ।