पेचिलो बन्दै प्रदेश तीनको राजधानी : जिल्लै पिच्छे राजधानी माग

गुगलपाटी संवाददाता हेटौंडा,२० जेठ
२० जेष्ठ २०७५ १४:४०

अहिले अस्थायी मुकाम रहेको प्रदेश नम्बर ३ को राजधानी मकवानपुर जिल्लाको छिमेकी जिल्ला चितवनले पनि दाबी गरेको छ ।
आइतबार चितवन जिल्लाबाट निर्वाचित १३ जना सांसदहरुले प्रदेशको स्थायी राजधानी चितवनको माग गर्दै संसद सचिवालयमा प्रश्ताव दर्ता गएका छन् । काभ्रे, रसुवा, नुवाकोट र भक्तपुरका सांसदले पनि आफ्नो जिल्लामा राजधानी हुनुपर्ने माग गर्दै प्रश्ताव दर्ता गराइसकेका छन् ।
चितवनका सांसदहरु बलराम पौडेल, रामलाल महतो, कृष्णप्रसाद खनाल, मिलनबाबु श्रेष्ठ, कृष्णप्रसाद भुर्तेल, पार्वती सिलवाल, घनश्याम दाहाल, भावना सुवेदीलगायतको हस्ताक्षरमा प्रदेशसभामा प्रस्ताव दर्ता गरिएको छ । सांसदहरु कञ्चन खनाल, गिता वाग्ले, विजय सुवेदी, रिना गुरुङको नाम उल्लेख भए पनि हस्ताक्षर छैन ।
यसअघि काभ्रेका सांसदले गत चैत १४ गते, रसुवा र नुवाकोटका सांसदले १५ र भक्तपुरका सांसदले चैत २६ गते छुट्टाछुट्टै प्रस्ताव दर्ता गराएका थिए ।प्रदेश तीनका प्रायः सबै जिल्लाका सांसदहरुले आफ्नो जिल्लालाई नै स्थायी राजधानी बनाउनुपर्ने माग गर्न थालेपछि राजधानीको बिषय झनै पेचिलो बन्दै गएको छ ।