प्रचण्डका घरबेटी परे कारवाहीको सूचिमा
गुगलपाटी संवाददाता भक्तपुरजिल्ला प्रशासन कार्यालय भक्तपुरले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का ललितपुर खुमलटारस्थित घरधनी शारदाप्रसाद अधिकारीसहित १० ठेकेदारलाई कारबाही गर्न सिफारिस गरेको छ।
समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीको सूची पठाउन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले दिएको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय भक्तपुरले अधिकारीसहित १० निर्माण व्यवसायीलाई कारबाही गर्न सिफारिस गरेको हो।
अधिकारीको शैलुङ कन्स्ट्रक्सनले भक्तपुरको कमलविनायकदेखि नगरकोट पुग्ने सडकको ठेक्का लिएको थियो। तर, ठेक्का लिएको चार वर्ष पूरा हुँदा पनि उक्त सडक निर्माण सम्पन्न हुन सकेको छैन। २०७१ साल जेठमा सडक निर्माण सुरु गरेको शैलुङले २०७३ को असारभित्र निर्माण पूरा गर्नुपर्ने थियो। तर, अहिलेसम्म सडक निर्माण नहुँदा सर्वसाधारण जताततै खाल्डो भएको बाटो भएर यात्रा गर्न बाध्य छन्। करिब १६ किलोमिटर सडक निर्माण पूरा नहुँदा स्थानीय पानी पर्दा हिलाम्मे र घाम लाग्दा धूला खाएर यात्रा गर्न विवश छन्।
उक्त सडक निर्माणको लागि भारतको एक्जिम बैंकले करिब २८ करोड रुपैयाँ आर्थिक सहयोग गरेको थियो।
छिमेकी भारत सरकारको एक्जिम बैंकको सहयोगबाट बन्न लागेको भक्तपुर–नगरकोट सडकसमेत समयमै पूरा नभएपछि भक्तपुर प्रशासनले शैलुङलाई कालोसूचीमा राखेर कारबाही सिफारिस गरेको हो।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले ठेकेदारहरुले पाएको काम, काम सुरु गरिएको मिति, सम्पन्न गर्नुपर्ने मितिलगायतको विवरण समावेश गर्दै गृह मन्त्रालयमा कारबाही सिफारिस गरिएको जानकारी दिए।
‘काममा धेरै ढिलाइ गर्ने ठेकेदारहरूको विवरणसहित कारबाहीका लागि मन्त्रालयमा पठाएका छौं’, उनले भने, मन्त्रालयबाट निर्देशन आएपछि कारबाहीको प्रक्रिया अघि बढाउँछौं।’
विकास निर्माणका आयोजना अलपत्र पार्ने ठेकेदारको कामकारबाहीबारे सूक्ष्म अध्ययन जारी राखिएको उनको भनाइ थियो।