मेयर र वडाअध्यक्ष अनुगमनका लागि बिद्यालयमा

गुगलपाटी संवाददाता हेटौँडा, २३ जेठ
२३ जेष्ठ २०७५ १५:३८

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ भोर्लेमा अवस्थित विष्णुज्योति आधारभूत विद्यालयमा हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत र वडा नम्बर १२ का वडाअध्यक्ष ललित घलानको टोली अनुगमनका लागि पुगेको छ ।

विभिन्न समस्या झेलिरहेको विद्यालयको स्थलगत अनुगमन गरि उचित व्यवस्थापनको उपाय पत्ता लगाउने उदेश्यले विद्यालयमा अनुगमनका लागि पुगेको वडाअध्यक्ष घलानले बताए । अनुगमनका क्रममा विद्यालयको भौतिक अवस्था, शैक्षिक अवस्था तथा विद्यार्थीको सिकाई उपलब्धी लगायतका विषयमा जानकारी लिइएको थियो । जस्ताको छानोमा संचालन हुँदै आएको विद्यालयमा पानी चुहिने तथा भवन समेत करिब जिर्ण अवस्थामा पुगीसकेको उनले बताए । ‘हामीले अनुगमनमा जस्ताबाट पानी चुहिने समस्या रहेको पनि भेट्टायौँ, भवन समेत जिर्ण छ, ढलान गर्नका लागि उचित सहयोग र सहकार्यमा जुट्नेछौँ, वडा अध्यक्ष घलानले भने, ‘नगरपालिकाको समेत सहयोगमा विद्यालय भवन निर्माणको लागि सहयोगी हात जुटाउने प्रयत्न गरिरहेका छौँ ।’

वडा अध्यक्ष घलानका अनुसार विद्यालयमा नयाँ ढलानसहितको भवनको आवश्यकता देखिएको छ । विद्यालयमा केही समयअघि अङ्ग्रेजी माध्यममा कक्षा संचालन गरिएता पनि आर्थिक समस्या तथा व्यवस्थापनमा समस्या आएपछि नेपाली माध्यममा मात्र पढाई हुने गरेको पाइएको छ । मेयर महतले समेत विद्यालय व्यवस्थापनका लागि श्रोत खोजिने बताएका छन् ।

विद्यालयको अनुगमनमा मेयर महत, वडा अध्यक्ष घलानसहित कार्यपालिका सदस्य रुक्मणी गोङ्वा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दरी थापा, वडा सदस्य भुवन खनाल लगायतको सहभागीता रहेको थियो ।