बन्दरगाहमा रहेको कन्टेनर सार्ने मेसिनमा आगलागी
गुगलपाटी संवाददाता वीरगन्ज,२४ जेठपर्सा जिल्लको वीरगन्जको सिर्सियास्थित सुख्खा बन्दरगाहमा कन्टेनर सार्ने मेशिनमा आगलागी हुँदा अन्दाजी दुई करोड मूल्य बराबरको क्षति भएको छ । सुख्खा बन्दरगाहमा एनसी ०२० ०१४९ नम्बरको ह्यास्टर अर्थात् रिटेस्टेकर मेशिनमा आगलागी भएको हो ।
हाईवे रोडलाइन प्राली लेखिएको मेशिनको इन्जिन सट भएर आगलागी भएको अनुमान छ । आगलागीबाट मेशिन जलेर पूर्ण रुपमा नष्ट भएको छ ।
आगलागीमा परी भारत सीतामढी घर भई अपरेटरको काम गर्दै आएका ३१ वर्षीय सुशिल राउत सामान्य घाइते समेत भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसी राजन लिम्बुले जानकारी दिए । अपरेटर राउतको दायाँ हातमा सामान्य चोट लागेको छ ।
बुधबार राति १०ः४० बजेतिर लागेको आगो वीरगञ्ज महानगरपालिका र पोखरीयाबाट गएको दमकलको सहयोगमा स्थानीय बासिन्दा, प्रहरी, सशस्त्र प्रहरीको समेत सहयोगमा साढे ११ बजेतिर निभाइएको प्रहरीले जनाएको छ ।