प्रदेश तीनको नीति कार्यक्रममा मुख्यमंत्रीको जवाफ : पाँच बर्षभित्र प्रदेश सम्मृद्ध बन्नेछ

गुगलपाटी संवाददाता हेटौंडा,२४ जेठ
२४ जेष्ठ २०७५ १०:२७

प्रदेश नम्बर ३ को नीति तथा कार्यक्रम पारित भएको छ। बिहीबार मुख्यमंत्री डोरमणी पौडेलले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित भएको हो । संसद बैठमा जवाफ दिँदै मुख्यमन्त्री डोरमणि पौडेलले आगामी पाँच वर्षभित्र प्रदेशलाई समृद्ध बनाउने योजनाका साथ नीति तथा कार्यक्रम आएको दाबी गरे ।
मूख्यमन्त्री पौडेलले नीति तथा कार्यक्रम काल्पनिक नभई यर्थाथमा आधारित भएको बताए। उनले विशेष सुविधा दिएर उद्योग स्थापना गरी रोजगारीको अवसर सिर्जना गर्ने बताए। सार्वजनिक–निजी साझेदारी र सार्वजनिक–सहकारी साझेदारीका आधारमा प्रदेश विकासको अवधारणा ल्याइएको भन्दै यसका लागि प्रदेश निर्माण कम्पनीले महत्वपूर्ण भूमिका खेल्ने भएकाले आशंका नगर्न आग्रह गरे।

उनले प्रदेश सरकारले ४ बर्षभित्रमा कम्तिमा एक सय मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाईनमा योगदान दिने ढंगले काम गर्ने बताउँदै नीजि क्षेत्रलाई समेत उर्जा क्षेत्रमा लगानीका लागि प्रोत्साहन गरिने बताए। विदेशबाट प्राप्त हुने रेमिट्यान्स अहिले अनुत्पादक क्षेत्रमा खर्चिने प्रवृत्ति रहेकोमा यसको न्यूनिकरणका लागि उद्योग स्थापना गरी शेयरको व्यवस्था गर्ने बताए।

सहकारीमा रहेको रकम पनि अनुत्पादक क्षेत्रमा खर्च भईरहेको भन्दै मूख्यमन्त्री पौडेलले यसलाई उद्योगमा लगाउन प्रोत्साहन गरिने बताए। मुख्यमन्त्री पौडेलले प्रदेशका विभिन्न शहरमा वि.स.२०८५ सम्ममा पेट्रोलबाट संचालन हुने साना सवारीलाई निरुत्साहित गर्नका लागि अब नयाँ गाडी भित्र्याउँदा ध्यान दिने बताए।