आयोगको पत्रले राजपामा खैलाबैला
गुगलपाटी संवाददाता काठमाडौंनिर्वाचन आयोगले ३७ दिनभित्र महाधिवेशन गर्न राष्ट्रिय जनता पार्टीलाई निर्देशन दिएको छ । आयोगले बिहीबार पत्र नै काटेर ३० असारभित्र महाधिवेशन गर्न निर्देशनात्मक आदेश दिएको हो ।
अध्यक्ष मण्डलको बैठक सकिए लगतै आएको आयोगको पत्रले राजपामा खैलाबैला मच्चिएको छ । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले अध्यक्ष मण्डलका सदस्यहरुलाई बोलाएर छलफल गरेपनि यसबारे कुनै निर्णय भएको छैन ।
मधेस केन्द्रित ६ दल मिलेर ७ वैशाख २०७४ मा राष्ट्रिय जनता पार्टी गठन भएको थियो ।
दल दर्ताका क्रममा बुझाइएको विधानको धारा २२ को उपधारा १० मा नै एक वर्षभित्र महाधिवेशन गर्ने उल्लेख थियो । निर्वाचन आयोगले त्यही दफालाई टेकेर ३० असारभित्र महाधिवेशन गर्न निर्देशन दिएको हो ।
स्रोतका अनुसार नेपाल कम्युनिस्ट पार्टी (ने क पा० दर्ताका क्रममा महिला ३३ प्रतिशतलाई लिएर बहस भएको थियो । नेकपाका नेताहरुले राजपालाई दल दर्ताका क्रममा छुट दिएको भन्दै आफूहरुले पनि त्यो सुविधा पाउनु पर्ने माग गरे ।
आयोगले नेकपा दर्ताका क्रममा ३ महिनाभित्र राजनीतिक दलसम्वन्धी ऐन अनुसार सबै कमिटीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गराउन निर्देशन दिएको छ ।
लगतै आयोगले राजपालाई पूर्वप्रतिवद्धता अनुसार महाधिवेशन गर्न पनि ताकेता परेको हो ।