कुलेखानी दोस्रोबाट बिधुत प्रवाह ठप्प

गुगलपाटी संवाददाता काठमाण्डौं
२५ जेष्ठ २०७५ ११:४०

मकवानपुरको इन्द्रसरकोमा रहेको ३२ मेगावाट जडित क्षमताको कुलेखानी दोस्रो जलविद्युत केन्द्रको एउटा युनिट (१६ मेगावाट) को जेनेरेटरमा समस्या देखिएको छ ।

युनिट दुईको जेनेरेटरको ‘स्टेटर वाइन्डिङ’मा समस्या देखिएपछि २० जेठदेखि केन्द्रबाट १६ मेगावाट विद्युत उत्पादन बन्द छ । ‘स्टेटर वाइन्डिङ’को मर्मत गर्नु पर्ने भएकाले कुलेखानी पहिलो र दोस्रो जलविद्युत केन्द्रबाट ४६ मेगावाट मात्रै विद्युत उत्पादन भइरहेको छ भने ४६ मेगावाट बन्द छ ।

कुलेखानी दोस्रोको एउटा युनिट बन्द भएको अवस्थामा पहिलोलाई ६० मेगावाटमा चलाउँदा जलाशयको पानी खेर जाने भएकाले पहिलो पनि ३० मेगावाटमा मात्रै सञ्चालन गरिएको छ ।

कुलेखानी पहिलोबाट विद्युत उत्पादन गरी निक्लिएको पानीबाट दोस्रो विद्युत गृह सञ्चालन हुन्छ । कुलेखानीलाई अन्य विद्युत केन्द्रजस्तो २४ सै घण्टा चलाइँदैन । विद्युतको माग बढेका वेला आवश्यकताका आधारमा मात्रै सञ्चालन गरिन्छ । कुलेखानी पहिलोमा ३०/३० मेगावाटका दुईवटा र दोस्रोमा १६/१६ मेगावाटका दुईवटा टर्बाइन छन् । अहिले दुवै विद्युत गृहका एउटारएउटा मात्रै टर्बाइन चलाइएको प्राधिकरणले जनाएको छ ।

वर्खा लागेसँगै खोला तथा नदीमा पानीको वहाव बढेकाले नदी प्रवाहमा आधारित (रन अफ रिभर) जलविद्युत केन्द्रबाट विद्युत उत्पादन बढेको छ । यसले गर्दा कुलेखानीबाट ४६ मेगावाट उत्पादन बन्द हुँदासमेत पिक समयको विद्युत माग र आपूर्ति व्यवस्थापन गर्न सहज भई लोडसेडिङ गर्नु नपरेको प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत सोमबार कुलेखानी दोस्रो विद्युत केन्द्रको स्थलगत निरीक्षण गरी मर्मतका लागि उपकरण आपूर्तिकर्ता कम्पनीलाई तत्काल बोलाउन केन्द्र प्रमुखलाई निर्देशन दिएका थिए । उनले त्यहींबाट आपूर्तिकर्ता कम्पनीका नेपाल प्रतिनिधिलाईसमेत फोन गरी प्राविधिकलाई तत्काल आउने व्यवस्थाका लागि पहल गर्न निर्देशन दिए ।