मनहरीमा अपाङ्ग भवन उद्घाटन, समन्वय समितिमा स्याङ्बो

गुगलपाटी संवाददाता मनहरी,२५ जेठ
२५ जेष्ठ २०७५ १३:४१

मनहरी गाउँपालिका ७ रमन्टारस्थित अपाङ्ग स्वावलम्बन जीवन पद्धति केन्द्रको नयाँ भवन उद्घाटन गरिएको छ ।

मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले नयाँ भवनको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै अपाङ्गता भएकाहरुको खुसीका लागि गाउँपालिकाले कुनै कसर बाँकी नराख्ने बताए । उनले आगामी बजेटमा समेत अपाङ्गता भएका व्यक्तिहरुका लागि उचित ढंगले बजेट बिनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले अपांगता भएका व्यक्तिहरुको क्षमता तथा सीप विकास एबम् आत्मनिर्भरताका लागि स्थानीय सरकारले योजनाबद्ध काम गर्ने बताए ।

कार्यक्रममा समाजसेवी रामहरि सुवेदी, मनहरी एफएमका स्टेशन म्यानेजर शिवकुमार काशी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

मनहरी गाउँपालिकाको ४ लाख आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको अपाङ्ग स्वावलम्बन जीवन पद्धति केन्द्रको भवन निर्माण विभिन्न संघसंस्थाहरुको सहयोगमा भएको थियो । बाथरुम तथा आवाससहितको भवनलाई आगामी दिनमा अपाङ्गता स्रोत केन्द्रको रुपमा विकास गर्ने लक्ष्य राखिएको छ । संस्थाका अध्यक्ष सुरेश घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा सदस्य दिलबहादुर स्याङ्बो शरणले स्वागत गरेका थिए ।

यसैबीच अपाङ्गता भएका व्यक्तिहरुको क्षमता विकास तथा हक अधिकारका लागि क्रियाशील रहने गरी मनहरी गाउँपालिकास्तरीय अपाङ्ग समन्वय समिति गठन भएको छ ।

दिलबहादुर स्याङ्बोको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा दुर्गा कार्की, सचिव खेम मुक्तान, कोषाध्यक्ष रोशनी थोकर तामाङ रहेका छन् ।

सदस्यहरुमा लीलाराम भट्ट, खिमबहादुर गुरुङ, दिपक थिङ, सानुकान्छा तामाङ, कृष्णप्रसाद बिडारी रहेका छन् । समितिको गठन मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको प्रमुख आतिथ्यतामा भएको हो । समितिले मनहरी गाउँपालिकासँग समन्वय गरी बजेट बिनियोजन लगायतका कुराहरुमा साझेदारी गरी अघि बढ्ने अध्यक्ष स्याङ्बोले बताए ।