आदिवासी जनजाति पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि गोष्ठी
गुगलपाटी संवाददाता हेटौंडा, २५ जेठमकवानपुर जिल्लाका विभिन्न संचारमाध्यममा कार्यरत आदिवासी जनजाति पत्रकारहरुकालागि एक दिने पत्रकारिता क्षमता अभिवृद्धि गोष्ठी आज हेटौँडामा सम्पन्न भएको छ ।
आदिवासी जनजाति महासंघ नगर समन्वय परिषदको आयोजना तथा हेटौँडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयको सहयोगमा कार्यक्रम भएको हो । गोष्ठीलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुर शाखाले व्यवस्थापन गरेको थियो ।
गोष्ठीमा कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक तथा बाम्बुले राई मातृभाषा अभियन्ता गणेश राई र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मध्यमाञ्चलका निवर्तमान संयोजक कुमार नेगीले आदिवासीका सवालमा रही विभिन्न विषयमा प्रशिषण दिएका थिए ।
आदिवासी जनजाति महासंघ नगर समन्वय परिषदका अध्यक्ष जंगबहादुर गुरुङको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रममा परिषद जिल्ला अध्यक्ष तिर्थबहादुर थापा, फोनिजका केन्द्रीय पार्षद सुरेश श्रेष्ठ, फोनिज मकवानपुरका अध्यक्ष तथा पत्रकार महासंघ ३ नम्बर प्रदेश महासचिव कृष्ण सारु मगर लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम परिषदका सचिव भिम भुजेलले सञ्चालन गरेका थिए ।
गोष्ठीमा सहभागीका तर्फबाट तामाङ पत्रकार संघका केन्द्रीय सदस्य शुभराज भोम्जन र पत्रकार अजिता नगरकोटीले अनुभव साझा गरेका थिए ।