१० वर्षमा पनि पूरा भएन कुलेखानी तेस्रो, सरकारले चिनियाँ कम्पनीलाई कारबाही गर्ला ?

हेटौंडा, २८ जेठ/ हेटौंडा
२८ जेष्ठ २०७५ ०१:३५

भीमफेदी गाउँपालिकाको सानुटारमा १० वर्षअघिदेखि निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत आयोजनाको निर्माणमा ढिलाई भएको छ । ४४ महिनामा निर्माण पूरा गर्ने लक्ष्यका साथ सन् २००८ को अप्रिल अर्थात २०६४ सालबाट सुरु भएको आयोजनाको निर्माण कार्य १० वर्ष बितिसक्दा पनि पूरा भएको छैन । चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेशनले सिभिलतर्फको काम र इलेक्ट्रोमेकानिकल, हाइड्रो मेकानिकल र प्रशारण लाइनको निर्माण कार्यको ठेक्काको काम झेजियाङ जिल्लुन इलेक्ट्रो मेकानिकल कम्पनीले गर्दै आएको छ ।

दुई अर्ब ४३ करोडको लागतमा निर्माण गर्ने लक्ष्य रहेकोमा आयोजनाको काम लम्बिँदा लागत दोबर भइसकेको छ । अहिलेसम्म चार अर्ब ६३ करोड रुपियाँ खर्च भइसकेको आयोजनाका उपप्रबन्धक धिरेन्द्र चौधरीले जानकारी दिनुभयो । निर्माणमा ढिलाई गर्ने नेपाली निर्माण कम्पनीमाथि छानविन र कार्वाहीको दायरामा ल्याउन भन्दै सरकार लागिपरेको बेला १० वर्षसम्म पनि आयोजना सम्पन्न नगर्ने चिनियाँ कम्पनीमाथि कारबाही गर्ने चुनौती थपिएको छ । आयोजनाको पटकपटक म्याद थप गरेर सिभिलतर्फको काम भने सक्याइएको जनाइएको छ । इलेक्ट्रोमेकानिकल तर्फको अझै २५ प्रतिशत काम बाँकी रहेको आयोजनाले जनाएको छ ।

अबको तीन महिना अर्थात आगामी सेक्टेम्बरभित्र विद्युत् उत्पादन थाल्ने गरी काम भइरहेको आयोजना प्रमुख सुभाष मिश्रले जानकारी दिए । आयोजनाको इलेक्ट्रोमेकानिकलको कामको जिम्मा लिएको चिनियाँ कम्पनी झेजियाङ जिल्लुनले बीचैमा काम छाडेर गएपछि केही समय कुलेखानीको काम प्रभावित भएको थियो । पछि सो कम्पनीलाई झिकाएर कानूनबमोजिम कारबाहीसमेत गरिएको थियो । तर, पनि जिल्लुनले समयमै काम नसक्याउँदा १४ मेगावाट क्षमताको आयोजनाबाट विद्युत् उत्पादनमा ढिलाई भइरहेको छ ।