डाक्टर देवकोटाको स्वास्थ्यमा सुधार
गुगलपाटी संवाददाता काठमाडौंपित्तथैलीको क्यान्सर भई उपचाररत वरिष्ठ न्युरो सर्जन डा। उपेन्द्र देवकोटालाई आइसियुबाट निकालिएको छ । स्वास्थ्य अवस्था गम्भीर, तर स्थिर रहेका उनको स्वास्थ्यमा सामान्य सुधार देखिएपछि आइतबार आइसियुबाट निकालिएको हो ।
अस्पतालका जनसम्पर्क अधिकृत काशीराज घिमिरेका अनुसार डा। देवकोटालाई भिआइपी वार्डमा राखिएको छ । शनिबार मात्रै हेलिकोप्टरमार्फत जन्मथलो गोरखा पुगेर आएका देवकोटाको अनुहारमा केही चमक देखिएको उनले बताए । ‘उहाँलाई सुविधासम्पन्न भिआइपी वार्डमा सारिएको छ, आवश्यक परे आइसियुमा लगिने छ,’ घिमिरेले भने ।
देवकोटाले आइतबार दिउँसो विभिन्न दलका नेताहरूलाई भेटेका छन् । शनिबारसम्म हातले इसारा गरेका उनले आइतबार भेट्न आउनेलाई नमस्कार फर्काएका थिए । डा। देवकोटाले सात चम्चा सोडापानी खाएका छन् । ‘मेरो जन्मघर जाने ठूलो चाहना थियो, पुगेर आएँ,’ देवकोटाको भनाइ उद्धृत गर्दै घिमिरेले भने ।