आगलागी पीडितलाई सहयोग
गुगलपाटी संवाददाता मकवानपुर, २८ जेठमकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीका आगलागी पीडित परिवारलाई महेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सक्रियतामा सहयोग प्रदान गरिएको छ ।
पदमपोखरीको बानियाँ चोकका आगलागी पीडित नवराज थिङलाई विद्यार्थी र शिक्षकहरुको सक्रियतामा संकलन गरिएको ११ हजार ७ सय रुपैयाँ रकम हस्तान्तरण गरिएको हो । विद्यालयको कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरु अजय, बिमला र सर्वदा, विद्यालयका प्रधानाध्यापक शंकरबहादुर थिङ तथा सहायक प्रधानाध्यापक अमरनिधि उप्रेती सहितको टोलीको सक्रियतामा कक्षा ८ देखि १० सम्म पढ्ने विद्यार्थीहरु र शिक्षकहरुबाट सहयोग रकम संकलन गरिएको हो । संकलित रकम पीडित थिङलाई सहायक प्रधानाध्यापक उप्रेतीले हस्तान्तरण गरेका हुन् ।
थिङको घरमा शनिबार बिजुली सर्ट भई आगलागी हुँदा नगद ५ लाख, घर, अन्नपात, भाँडावर्तन लगायत जलेर करिब १२ लाख ७८ हजार रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको थियो । हाल पीडितहरु आफन्तको घरमा बस्ने गरेको विद्यालयका सहायक प्रअ उप्रेतीले बताए ।