फाखेल बालमैत्री वडा घोषित
गुगलपाटी संवाददाता हेटौंडा,२९ जेठस्थानीय शासन अवलम्बन गरिएको बालमैत्री वडाको रुपमा मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको ४ र ५ नम्बर वडा (साविक फाखेल गाविस)लाई घोषणा गरिएको छ ।
मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले विश्व बालश्रम विरुद्धको दिवसको अवसरमा फाखेलमा यस्तो घोषणा गरेका हुन् । मन्त्री पण्डितले घोषणालाई प्रभावकारी कार्यान्वयन गर्न आग्रह गर्दै घोषणामै सीमित नगर्न स्थानीयलाई अनुरोध गरे । सरकार देशलाई समृद्ध र विकाशित बनाउने अभियानमा अघि बढेको भन्दै उनले त्यसका लागि बालमैत्री घोषणा कार्यले पनि सहयोग गर्ने बताए ।
उक्त कार्यक्रममा प्रतिनिधी सभा साँसद विरोध खतिवडा, ३ नम्बर प्रदेशका प्रमुख सचिव रेश्मीराज पाण्डे, प्रदेश साँसद माधव पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा लगायतले बालमैत्री वडा घोषणामा पहिलो हुनु खुशीको कुरा भए पनि पूर्ण कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिए ।बालमैत्री स्थानीय शासनको सुचकहरुमा ९५ प्रतिशत पुरा गरेको संयुक्त बालमैत्री वडा घोषणा मूल समारोह समितिका संयोजक एवम् इन्द्रसरोवर गाउँपालिका ५ नम्बर वडा अध्यक्ष धनराज महर्जनले बताए ।
घोषणा कार्यक्रम अघि निकालिएको झाँकीसहितको यालीपछि सांस्कृतिक नृत्य, स्थानीय तथा राष्ट्रिय कलाकारहरुले गित तथा नृत्य प्रस्तुत गरेको आयोजकहरुले जनाएका छन् ।