रातो रगतको कालो व्यापार
गीता चिमोरिया काठमाडौंहाल कोटेश्वर बस्दै आउनुभएकी बारा निजगढकी ममता राउतलाई शरीरमा रगतै नबन्ने समस्या छ । जसलाई अस्पतालको भाषामा अप्लास्टिक अनिमिया भनिन्छ । उहाँ अहिले हरेक हप्ता रगत चढाइरहनु भएको छ ।
काठमाडौं बानेश्वरको नागरिक अस्पतालमा भेटिनुभएकी ममताले ललितपुरको बालकुमारीबाट एक पिण्ट अर्थात् एक पोका रगतको परीक्षण शुल्क ५२५ रुपैयाँ तिरेर ल्याएको बताउनुभयो ।
त्यही नागरिक अस्पतालमा भेटिनुभएका रोल्पाका लालबहादुर केसीले भक्तपुरबाट प्रति पिण्ट ६०० रुपैयाँ तिरेर १२०० मा दुई पिण्ट रगत लिएर आउनुभयो । केसी हेमाटोका बिरामी आफ्ना ७३ वर्षका बुवालाई उपचार गराई रहनुभएको छ ।
त्यही रगत नेपाल रेडक्रस सोसाइटिको ललितपुर जिल्ला शाखा पुल्चोकले प्रति पिन्ट ६०० र क्रस म्याच सहित ८०० रुपैयाँ लिन्छ ।
एउटै रगत रेडक्रसकै राजधानीका तीन केन्द्रबाट फरक मूल्यमा दिइरहेको थाहा पाएपछि बुझ्दै जाँदा देशैभरी निशुल्क दिइने रगत ब्यापारकै शैलीमा बिक्री भइरहेको पत्ता लागेको छ ।
लेखा अधिकृत ईश्वरी पन्तका अनुसार नेपाल रेडक्रस सोसाइटिको केन्द्रीय रक्तसञ्चार सेवा बालकुमारीले प्रति पिन्ट ४९५, बीटी सेट (ब्लड ट्रान्सफर) सहित ५२५ र क्रसम्याच पनि गर्दा बिरामीले एक पिन्ट रगतको ६७५ रुपैयाँमा दिइरहेको छ ।
बालकुमारीले १५० रुपैयाँ लिने क्रसम्याचका लागि पुल्चोकले २०० लिने गरेको छ । त्यसपछि हामी जनकपुर पुग्यौं । नेपाल रेडक्रस सोसाइटि रक्तसञ्चार सेवा प्रयोगशाला प्रमुख नारायण न्यौपानेले न्युनतम सेवा शुल्कमा बिरामीलाई रगत उपलब्ध गराएको दाबी गर्नुभयो ।
त्यो न्युनतम कति हो ? भनेर सोध्दा थाहा पायौं, जनकपुरमा सरकारी अस्पतालका बिरामीले प्रति पिण्ट ८५० र नीजिका बिरामीले ९५० रुपैयाँ परीक्षण शुल्क भनेर तिरिरहेका छन् । पोखरामा यो भन्दा झन महङ्गो तिर्नुपर्ने रहेछ । नेपाल रेडक्रस सोसाइटि क्षेत्रिय रक्तसञ्चार सेवा पोखराले सरकारी अस्पतालका बिरामीलाई ७०० र नीजि अस्पतालका बिरामीलाई एक हजार रुपैयाँमा रगत दिने रहेछ ।
सरकारी र नीजिका लागि किन मूल्य फरक ? हामीले रक्तसञ्चार सेवा प्रमुख धु्रवमणी लामिछानेलाई सोध्यौं । लामिछानेकै भाषामा रक्तसञ्चार केन्द्रले आफू सस्टेन हुनका लागि त्यसो गरेको रहेछ ।
हामीले फेरि सोध्यौं, नीजिमा जाने बिरामीले त अस्पतालमा पनि महङ्गो शुल्क तिर्नुपर्छ अनि तपाईहरुले पनि महङ्गो लिनुहुने रहेछ, लामिछानेले घुमाउरो भाषामा सरकारी अस्पतालमा जाने बिरामी गरीव र नीजि अस्पतालमा जाने बिरामी धनी हुने भएकाले यसो गरिएको बताउनुभयो ।
रेडक्रसको क्षेत्रिय सेवा केन्द्र पोखराले वर्षमा झन्डै १३ हजार पिन्ट रगत संकलन र २० हजार पिन्ट वितरण गर्दै आएको छ । नेपाल रेडक्रस सोसाइटीले निःशुल्क रगत दिइरहेको दाबी गर्छ, तर व्यवस्थापन खर्च भन्दै लागतभन्दा चार गुणा बढी रकम असुल्दै आएको छ ।
रक्तसञ्चार केन्द्रपछि हामीले स्वयमसेविहरुलाई भेट्यौं । जसले रगतको अभावले कोही पनि मानिस मर्न नपरोस् भनेर धेरैभन्दा धेरै पटक रक्तदान गर्ने, रक्तदानका कार्यक्रमहरु आयोजना गर्ने र समन्वय गर्ने काम गरिरहेका छन् ।
अहिलेसम्म १ सय ५४ पटक रक्तदान गरिसक्नुभएका नेपाल स्वयम् सेवि रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेम सागर कर्माचार्य रगतमा नाफाको उद्देश्य राखेर ब्यापार भएको दावी गर्नुहुन्छ । कर्माचार्यले समन्वय गर्ने हो भने निकै कमभन्दा कम परीक्षण शुल्कमा बिरामीलाई रगत उपलब्ध गराउन सकिने भएपनि आम्दानीको बाटो टुट्ने भएकाले पटकपटकको आग्रहमा पनि रेडक्रसले स्वयमसेविहरुसँग समन्वय नगरेको बताउनुभयो ।
रक्तसञ्चार केन्द्रहरुले आफू आत्मनिर्भर हुने नाममा बिरामीबाट पैसा लिने विषयमा हामीले रेडक्रसका प्रवक्तासँग कुरा ग¥यौं । प्रवक्ता दिब्यराज पौडेलको जवाफ रक्तसञ्चार केन्द्रको जति पनि जिम्मेवार थिएन । रेडक्रसले रक्तसञ्चार केन्द्रहरुका लागि न्युनतम वा अधिकतम यति रकम परीक्षण शुल्क लिन पाइने भनेर तोकेको छैन । बरु प्रवक्ता पौडेलले रक्तसञ्चार सेवा सञ्चालनका लागि वार्षिक २ करोड रुपैयाँ अपुग भएर अन्यत्र आम्दानीबाट प्रयोग गर्नुपरेको बताउनुभयो ।
अस्पतालहरुको अवस्था झन् भयावह छ । अस्पतालहरुले ७ सय देखि २ हजारसम्म लिइरहेका छन् । सरकारी निकाय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार अहिले उच्च प्रविधिबाट रगतको नमूना परीक्षण गर्दा ग्रुपिङ र क्रसम्याचको २ सय पर्छ ।
नेपाल रेडक्रस सोसाइटिले रगतको परीक्षण शुल्कमा एकरुपता नहुनुको दोष सरकारलाई दिइरहेको छ । सरकारले मापदण्ड नतोकिदिँदा यस्तो समस्या देखिएको रेडक्रस बताउँछ । तर रेडक्रसको आफ्नो रक्त सञ्चारकेन्द्रहरुमै पनि परीक्षण शुल्कमा एकरुपता छैन । ‘सरकारले परीक्षण शुल्क नतोकेपनि रेडक्रस आफैंले मापदण्ड बनाएर आफ्ना रक्तसञ्चार केन्द्रहरुमा त एकरुपता कायम गर्न सक्थ्यो नि हैन ?’ यो प्रश्नको जवाफ खोज्न हामीले प्रवक्ता पौडेलसँग झन्डै आधा घण्टा कुरा ग¥यौं । तर उहाँले यसको स्पष्ट जवाफ दिनुभएन ।
रक्तसञ्चार केन्द्रैपिच्छे बिरामीले परीक्षण शुल्क फरक फरक तिर्नुपरेको छ । आवश्यक ब्याग, क्रस म्याचको रकम पनि फरक फरक छ । हरेक रक्तसञ्चार केन्द्रले आफूभन्दा महङ्गो लिने केन्द्रलाई देखाएर व्यापार गर्ने त उनीहरु हुन्, हामी सेवा दिइरहेका छौं भन्ने रहेछन् ।
अस्पतालहरुको अवस्था झन् भयावह छ । अस्पतालहरुले ७ सय देखि २ हजारसम्म लिइरहेका छन् । सरकारी निकाय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार अहिले उच्च प्रविधिबाट रगतको नमूना परीक्षण गर्दा ग्रुपिङ र क्रसम्याचको २ सय पर्छ । सामान्य प्रविधिबाट परीक्षण गर्दा गु्रपिङ शुल्क ३५ रुपियाँ र क्रसम्याच शुल्क ५० रुपैंया लाग्छ ।
स्वास्थ्य मन्त्रालयले ‘राष्ट्रिय रक्तसञ्चार नीति–२०७१’ मा रगत तथा रक्ततत्वको देशव्यापी परीक्षण प्रणाली र मूल्यमा एकरूपता नभएको उल्लेख गरेको छ तर अहिलेसम्म आधिकारीक मूल्य तोकेको छैन । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले यस विषयमा आफूहरु गम्भीर रहेको र यस विषयमा चाँडै निष्कर्षमा पुग्ने बताउनुभयो ।
रगत जस्तो संवेदनशिल विषयमा सरकारको हेलचेत्र्याइले बिरामी त मारमा परेका छन् नै स्वयम्सेवकहरु पनि निराश हुँदै गएका छन् । आफूहरुले निशुल्क दिएको रगत, परीक्षण शुल्कको नाममा रक्तसञ्चार केन्द्र र अस्पतालहरुले कमाउ धन्दा बनाउने र आफैंले पनि भनेको समयमा रगत नपाउने भएपछि रक्तदाताहरुको उत्साह घट्दै गएको नेपाल स्वयम्सेवि रक्तदाता समाजका अध्यक्ष कर्माचार्यको भनाइ छ ।
देशका ६५ जिल्लामा रेडक्रस सोसाइटिका एकसय ६ वटा रक्त सञ्चार केन्द्र छन्। ती सबै शाखा गरेर गतबर्ष २ लाख ३६ हजार पिण्ट रगत संकलन र ३ लाख ३७ हजार पिण्ट बिरामीलाई उपलब्ध गराएको छ । एक पोका बराबर ४ सय रुपियाँ मात्रै बढी लिंदा पनि रेडक्रसले बिरामीका आफन्तबाट गतबर्ष मात्रै १३ करोड ५० लाख रुपैयाँ असुल गरेको देखिन्छ ।
बिरामीको ज्यान बचाउन रत्तदान गर्नेहरुले निःशुल्क रगत दिइरहेका हुन्छन् । तर सरकारले शुल्क नतोक्दा रेडक्रस र अस्पतालको मिलेमतोमा रातो रगतमा कालो ब्यापार भइरहेको छ ।