प्रदेश तीनको राजधानी खोज्न टोली बनेपामा
गुगलपाटी संवाददाता हेटौंडा,३० जेठसरकारले प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडा तोकेपनि स्थायी राजधानीका लागि सम्भाव्यता अध्ययन गर्न बनेको प्रदेश ३ को संसदीय समिति राजधानीको सम्भाव्यता खोज्दै काभ्रेमा पुगेको छ । विभिन्न स्थान र भौतिक पूर्वाधार अवलोकन र राजधानीको सम्भाव्यता अध्ययन÷अनुसन्धान गर्न संसदीय टोली काभ्रे पुगेको हो । संसदीय समितिका संयोजक दीपक निरौलाको नेतृत्वमा जिल्लामा रहेको सूचना प्रविधि पार्क, भूमि व्यवस्थापन केन्द्र, शैक्षिक तालिम केन्द्र तथा जिल्लामा खाली रहेका सरकारी कार्यालय भवन र खाली जग्गाको स्थलगत अनुगमन गरेका हुन् ।
राजधानीका लागि संसद्मा दर्ता भएका निवेदनका आधारमा सम्भावित र दाबी गरिएका जिल्लाको अवलोकन र तुलनात्मक अध्ययन भएको निरौलाले बताए । ‘संसद्मा स्थायी राजधानीका लागि दाबी गरेका जिल्लाको भौतिक पूर्वाधार र सम्भाव्यताबारे स्थलगत अवलोकन गर्ने क्रममा काभ्रेको विभिन्न स्थानमा अवलोकन गरेका छौं,’ उनले थपे, ‘राजधानीका लागि दाबी भएका जिल्लाको अवलोकन र पूर्वाधारको अवस्थाबारे जानकारी लिएका हौं ।’ टोलीले जिल्लाका संरचनाको स्थलगत अध्ययन गरेपछि जिल्लाका सरोकारवाला निकायसँग अन्तरक्रिया र छलफल गरेको थियो ।
समितिले प्रस्तावित जिल्ला र निवेदन दर्ता भएका जिल्लाको स्थलगत अनुगमन सकेर असार ११ गते प्रदेश सरकारलाई प्रतिवेदन बुझाउने निरौलाले बताए । ‘सबै जिल्लाको वस्तुस्थिति अनुगमन सकेर असार ११ भित्रै प्रदेश सरकारलाई देखिएको यथार्थ प्रतिवेदन बुझाउनेछौं’, निरौलाले भने ।
अनुगमनका क्रममा जिल्ला समन्वय समितिका संयोजक उद्धव केसीले प्राविधिक र भौतिक रूपमा र प्रदेशको केन्द्रबिन्दु र अन्य धेरै जिल्लाका लागि पनि काभ्रे उपयुक्त भएको बताए ।सोही जिल्लाकोृ अइटी पार्क राजधानी हुनुपर्ने माग गर्दै प्रदेश सचिवालयमा काभ्रेकै सांसदहरुले प्रश्ताव दर्ता गराएका छन् ।