कैलाश गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न
गुगलपाटी संवाददाता हेटौंडा, ३० जेष्ठमकवानपुरको कैलाश गाउँपालिकाले मंगलबार गाउँपालिकाको वडा नम्बर ६ स्थित गोगनेमा सार्वजनिक सुनुवाई तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिका अध्यक्ष टंक मोक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा स्थानीय निकायको निर्वाचिन पछि गएको १ बर्षमा निर्वाचित प्रतिनिधिले गरेका कार्यहरुको समीक्षा सहित जनगुनासोलाई प्राथमिकतामा राख्नका लागि सो कार्यक्रम गरिएको हो । एसएमएस मिडिया प्रा.लि.को संयोजनमा भएको सो कार्यक्रममा गाउँपालिकाको वडा नम्बर १, २, ५ र ६ का वडा अध्यक्षहरुले आफ्ना वडाहरुमा भएको कामको बारेमा सम्बन्धित वडाबासीहरुको प्रश्न तथा जिज्ञासाको उत्तर दिएका थिए । सार्वजनिक कार्यक्रममा गाउँपालिकाका कार्यकारी अधिकृत देवेन्द्र सापकोटाले समग्र गाउँपालिकाको बजेट, आम्दानी र खर्च विवरणलाई सार्वजनिक गर्दै सो विषयमा आएका प्रश्नहरुको उत्तर दिएका थिए ।
कार्यक्रमलाई संयोजन गरेको एसएमएस मिडियाका अध्यक्ष कृष्ण सारु मगरले गाउँपालिका वडा नम्बर १, २, ५ र ६ का स्थानीय नागरिकले आफूहरुलाई स्थानीय वडाहरुले दिएको सेवा प्रवाहका बारेमा तयार गरिएको सर्वेक्षणको प्रतिवेदन समेत प्रस्तुत गरेका थिए । सर्वेक्षण अनुसार वडाहरुमा कर्मचारीको अभाव, शीर्षक अनुसार छुट्याईएको बजेट अपुग रहेको, कर्मचारीले दुख दिएका सहित गुनासो आएको प्रस्तुत सर्वेक्षणमा उल्लेख रहेको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष मोक्तानले आएका गुनासोलाई क्रमागत रुपमै समाधान गरिने प्रतिबद्धता व्यक्त गरेका थिए भने जनप्रतिनिधि र स्थानीय वडाबासीहरुको प्रत्यक्ष सवाल जवाफ रहेको बहसमूलक सो सार्वजनिक कार्यक्रमलाई पत्रकार देवराज पन्तले सञ्चालन गरेका थिए ।कार्यक्रममा गाउँपालिकाका अमरकान्त झा, बसन्त सिटौला, स्थानीय राजनीतिक दलका प्रतिनिधि, स्थानीय नागरिक लगायतको उपस्थिति रहेको थियो । बाँकी वडाहरुमा आगामी आषाढको दाश्रो साता सार्वजनिक कार्यक्रम गरिने गाउँपालिकाले जनाएको छ ।