अब फाखेलको सडकमा पनि गाडी गुड्ने
गुगलपाटी संवाददाता हेटौंडा,१ असार
सडक बिभागले काठमाडौँ–फर्पिङ–हुमाने–फाखेल–कुलेखानी सडकलाई स्थायी बाटोका लागि अनूमति दिइएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले सडकलाई स्थायी बाटो कायम गर्न अनूमति दिएको हो ।
इन्द्रसरोवर गाउँपालिका कुलेखानी मकवानपुर लगायतका सरोकारवालाहरुले उक्त बाटोलाई स्थायी सडक कायम गरी भाडादर निर्धारण गर्न निवेदन दिएकोेमा उक्त सडकलाई स्थायी रुप दिइएको हो । उक्त निवेदन उपर विभागले जेठ १८ गते बाटोलाई स्थायी कायम गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको हो । विभागले यातायात व्यवस्था कार्यालय साना,ठूला सवारी बाग्मती तथा इन्द्रसरोवर गाउँपालिका कुलेखानी र जीप संचालन तथा समन्वय समिति काठमाडौँलाई बोधार्थ पठाउँदै निर्णयको जानकारी समेत गराएको छ ।
विभागको निर्णय अनुसार फर्पिङ दक्षिणकाली कुलेखानीसम्म २९ कि.मि. सडक र काठमाडौँ–फर्पिङ–हुमाने–फाखेल–कुलेखानी सडककोबिच जम्मा ६ किलो मिटरको अन्तर देखिएको र सवारी समेत निर्वाध रुपमा संचालनमा रहेको भन्दै अनुमति दिइएको हो । काठमाडौँ–फर्पिङ–दक्षिणकाली–कुलेखानी सडकखण्डको भाडादर बमोजिम नै उक्त सडकको समेत भाडादर कायम गरिएको पनि त्रिभागले जनाएको छ । यसअघि सो सडकखण्डबाट अस्थायी रुपमा मात्रै सवारी साधनहरु संचालनमा रहेका थिए भने केही नीजि सवारी साधन मात्रै संचालनमा आउथे । सो बाटो चलेपछि सिस्नेरीको बाटो भएर भने कम सवारी साधन चल्नेछन् ।