अब साझा बसमा सरररर
गुगलपाटी संवाददाता हेटौंडा,२ असारहेटौंडा उपमहानगरपालिका क्षेत्रमा आजबाट साझा यातायात बस संचालनमा आएको छ । हेटौंडा बजार क्षेत्र र वरपरका क्षेत्रमा संचालनमा रहेका अटो, मयुरीले यहाँका यात्रुहरुसंग बढी भाडा असुल गरेर हैरान बनाएपछी साझा यातायात संचालनमा ल्याइएको हो । हेटौंडा उपमहानगरपालिका संगको समन्वयमा मकवानपुर साझा यातायात प्रालिले आजबाट औपचारिक रुपमा एउटै कलरका ११ वटा बस संचालनमा ल्याएको हो ।
साझा यातायातको औपचारिक रुपमा उध्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले हरेक यात्रुलाई झर्कने फर्कने नभईकन मुस्कान सहितको सेवा दिनका लागि निर्देशन दिनुभयो । सानाखालका अटो, मयुरीमा असुरक्षित तरिकाले यात्रा गरिरहेका यात्रुहरुको समस्यालाई मध्यनजर गरेर आरामदायी र सुरक्षित यात्राका लागि निजी कम्पनि संगको समन्वयमा बस संचालनमा ल्याइएको मेयर महतले बताउनुभयो । शनिबार बिहान हेटौंडाको बुद्धचोकमा आयोजित कार्यक्रमपछी साझा बस चढेर मेयर महत, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक लाकेन्द्र श्रेष्ट, हेटौंडाका बिभीन्न वडाका वडाअध्यक्षहरु लगायतकालाई बसमा यात्रा गराएर उध्घाटन् गरिएको थियो । हेटौंडाको बुद्धचोकदेखि पिपलबोट, लोकप्रियचोक, नगरपालिका रोड, सिंचाईटोल, कान्तिलोकपथ हुँदै रापतिरोडमा आएर अतिथीहरुलाई यात्रा गराएपछी बस संचालनमा आएको छ । हेटौंडाका सबैजसो वडाका नागरिकलाई सुरक्षित यात्रा गराउनु उपमहानगरपालिकाको पनि दायित्व भएकाले यो सेवा अझै बिस्तार गरिने उहाँको भनाई छ ।
मकवानपुरका यात्रुहरुको मागलाई ध्यानमा राखेर उपमहानगरपालिकाको नियन्त्रणमा भाडा दर कायम गर्ने गरी साझा यातायात संचालनमा ल्याईएको हो । उपमहानगरपालिकाको समन्वयमा संचालन भएपनि साझा यातायात प्रालि गठन गरेर ११ वटा बस संचालनमा ल्याउन लागिएको प्रालिका अध्यक्ष भेष खड्गीले जानकारी दिनुभयो । सरकारी क्षेत्रबाट बस चलाएर यात्रुहरुलाई सुबिधा दिनका लागि निकै समस्या हुने भएकाले निजी कम्पनि भएपनि हेटौंडाका यात्रुहरुलाई आरामदायी तरिकाले सस्तो भाडादरमा आफ्ना गन्तब्यमा ओहोर दोहोर गराउनका लागि साझा यातायात नगर क्षेत्रमा संचालन गर्न दियएको हेटौंडा मेयर महतले बताउनुभयो । उपमहानगर क्षेत्रमा चल्नका लागि २ सय ५० वटाजति अटो मयुरीहरु संचालन गर्नका लागि अनुमती दिएपनि हेटौंडामा १३ सय भन्दा बढी अटो मयुरीका कारण ट्राफिक क्षेत्रमा धेरैनै समस्या भएकाले अब यात्रुहरु ओसार्नका लागि सहज रुपमा बसले सेवा दिने छ । आफुहरुले फाईदाका लागि भन्दा सेवा दिनका लागि बस संचालन गरिएको र अब निकट भबिस्यमानै २० वटा बस संचालनमा ल्याईने उहाँले बताउनुभयो । मकवानपुरका आम यात्रुहरुलाई छिटो, छरितो र सस्तो दरमा सेवा दिनका लागि कम्पनि तयार भएर पुरै नगरको नियन्त्रणमा रहने भएकाले यहाँ बस संचालन गनृका लागि निजी क्षेत्रसंग समन्वय मात्र गरिएको मेयर महतले बताउनुभयो ।
आम यात्रुहरुका लागि सहज, सुलब र सुरक्षित तरिकाले यात्रा गर्न सहज बनाउनुका साथै, धुलो, धुवाबाट बचाएर सहज यात्राका लागि उपमहानगरको आवहानमा निजी क्षेत्रसंग सहकार्य गरेर बस संचालनमा ल्याईएको लागिएको मेयर महतले बताउनुभयो । नगरबस हेटौंडा बजार क्षेत्र, भित्री सडक, हटिया, हर्नामाडी, बसामाडी, मनहरी लगायतका क्षेत्रमा संचालन गरिने बताइएको छ । पुरै आरामदायी सिट, महिला कन्डक्टर, नम्र स्वभाबका साथ यात्रुको मर्यादामा ख्याल गर्नेगरी बसले सेवा दिन सुरु गरिएको दाबि गरिएको छ । साझा यातायातले आफ्नो सबै रुट र यात्रुका लागि बिद्यार्थीका लागि तोकिएको भाडादर पनि पत्रिका मार्फत सार्बजनिक गरिसकेको छ । हरेक बसमा भाडादरको स्टिकर टाँस गरेर त्यस अनुसार महिला कन्डक्टरले भाडा संकलन गर्ने ब्याबस्था मिलाइएको छ । हेटौंडाका १० जना ब्याबसायीको ३ करोड ५० लाख रुपैयाँ लागतमा संचलन गरिएको बसबाट ५० जानले प्रतक्ष रुपमा रोजगारी पाएका छन् ।