चेपाङ बस्तीमा पहिलो पटक अंग्रेजी माध्यममा पढाई सुरु

गुगलपाटी संवाददाता हेटौंडा,३ असार
३ असार २०७५ १३:५१

मकवानपुरको पश्चिमी गाउँपालिका राक्सिराङमा पहिलो पटक अंग्रेजी माध्यममा पढाई सुरु भएको छ । राक्सिराङ गाउँपालिका–३ पलाँसेस्थित सूर्योदय माविमा अंग्रजी माध्यममा पढाई सुरु भएको हो ।
कक्षा १ मा अध्ययनरत विद्यार्थीहरुलाई कापी र कलम दिएर राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले अंग्रेजी कक्षाको उद्घाटन गरेका थिए । राक्सिराङ गाउँपालिकामा पहिलो पटक अंग्रेजी माध्यमबाट पढाई सुरु भएपछि खुशी ब्यक्त गर्दै अध्यक्ष मल्लले भने, ‘अब अंग्रेजी माध्यमको विद्यालयमा छोराछोरी पढाउन हेटौंडा र मनहरी बजार पठाउनुपर्दैन ।’
३५ जना विद्यार्थीबाट अंग्रेजी माध्यममा पढाई सुरु गर्ने तयारी गरेकोमा ७० जना विद्यार्थी पुगेको विद्यालयका प्रधानध्यापक काजिराम मोक्तानले बताए । ‘पहिलो विद्यार्थी हुन्नकी भन्ने डर थियो’, उनले भने, ‘तर अहिले सबैको आकर्षणको केन्द्र बनेको छ ।’ तामाङ र चेपाङ विद्यार्थी बढि रहेको सूर्योदयमा करिब आठसय विद्यार्थी अध्ययनरत रहेका छन् ।