काँग्रेस सभापतिको भेला : सभापति देउवा बिरुद्ध उत्रिए जिल्ला सभापतिहरु

गुगलपाटी संवाददाता मकवानपुर,७ असार
७ असार २०७५ १३:०२

मकवानपुरको हेटौंडामा मंगलबारबाट शुरु भएको जिल्ला सभापतिहरुको भेलामा सभापतिहरुले आफ्नो धारणा राख्नेक्रम सकिएको छ ।
भेलामा सहभागी भएका ७७ वटै जिल्लाका सभापतिहरुले आफ्ना धराणा राख्ने कार्यक्रम आज सकिएको नेपाली काँग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो । उहाँका अनुसार भोलि(शुक्रबार) हेटौडा घोषण पत्र जारी गर्दै भेला सकिने पनि जानकारी दिनुभयो । पार्टी एक बनाएर अगाडि बढाउने बिषयमा जिल्ला सभापतिहरुले नेतृत्वलाई सुझाव दिएको र जिल्ला सभापतिहरुको भेलाले पार्टी एक रहेको सन्देश दिने पनि उहाँले जानकारी दिनुभयो । भेलामा सभापति शेर बहादुर देउवा,बरिष्ठ नेता रामचन्द्र पौडेल सहित महामंत्री डा.शशांक कोइराला लगायतले जिल्ला सभापतिहरुले उठाएको प्रश्नको जवाफ दिने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।
यसैबीच भेलामा पार्टीका सभापति शेर बहादुर देउवाको चर्को आलोचना भएको छ । भेलामा सहभागी सभापतिहरुले देउवाले प्रचण्डसँग मिलेर पार्टी बिगारेको,पार्टीलाई एक बनाउन नखोजेको जस्ता आरोप लगाएका छन् । सभापतिहरु खरो रुपमा उत्रिएपछि भेला आलटाल गरी भोलि सक्ने तयारी भएको बुझिएको छ ।