विश्वकप फुटवल हेर्नहरूबीच गोली हानाहान, १४ जनाको मृत्यु

गुगलपाटी संवाददाता जुएरेज
१० असार २०७५ ११:१९

 मेक्सिकोको सीमा क्षेत्रमा भएका तीन वटा गोली हानाहानको घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

मेक्सिकोको उत्तरी क्षेत्रमा पर्ने जुअरेज सहरमा लागूऔषध प्रयोगकर्ताको समूहको संलग्नतामा शनिबार गोलीकण्ड भएको छ । तीमध्ये शहरको दक्षिणी क्षेत्रमा भएको एउटा घटनामा छ जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन् ।

विश्वकप फुटवल प्रतियोगिता हेर्न जम्मा भएका आठ जनामाथि गोली प्रहार हुँदा छ जनाको मृत्यु र दुइजना घाइते भएका हुन् । उनीहरुलाई हतियारधारी समूहले गोली प्रहार गरेको सुरक्षा अधिकारीले बताएका छन् ।

त्यही समयमा छिमेकी अर्को ठाउँमा पनि फुटवल हेर्नकै लागि एउटा सैलुनमा भेला भएका ५ जना मारिएका छन् । निलो भ्यानमा आएका व्यक्तिले उनीहरुलाई आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

शनिबार विहानै अरु तीन जनालाई छिमेकीको एउटा भोजबाट निकालेर बन्दुकधारीले हत्या गरेका थिए । यस सहरमा यो एक महिनामा मात्रै १२ सय ८ जना मारिएका छन् । सरकारले सन् २००६ मा लागूऔषध विरुद्धको विवादास्पद कानुन जारी गरेपछि झण्डै दुई लाख जना मारिएका छन् ।

सरकारी अधिकारीले ती मारिएकामध्ये कतिजना योजनाबद्धरुपमा आपराधिक क्रियाकलापमा संलग्न थिए भन्ने बारेमा यकिन नभएको बताएका छन् । एएफपी