करको बिषयमा अन्तरकृया कार्यक्रम

गुगलपाटी संवाददाता हेटौंडा,१३ असार
१३ असार २०७५ १४:१४

मकवानपुर उद्योग वाणिज्य संघले बुधबार आन्तरिक राजस्व कार्यालय हेटौंडाको सहयोगमा संशोधित कर व्यवस्था सम्बन्धी जानकारीमूलक अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ ।
संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य राख्दै अध्यक्ष कटुवालले गत जेठमा आएको नेपाल सरकारको बजेट सम्बोधनपश्चात भएका करको संशोधनहरुको विषयमा उद्योगी व्यवसायीहरुलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । ठूला उद्योगी व्यवसायी भन्दा पनि धेरै जसो साना उद्योगी व्यवसायीहरु करको समस्यामा धेरै पर्ने भएकोले बस्तुगत संघसंस्था र सो अन्तर्गतका उद्योगी व्यवसायीहरुलाई कार्यक्रम लक्षित गरिएको पनि उनले बताए ।

बजेटपश्चात भएका संशोधित करको व्यवस्थाको विषयमा आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत राजेन्द्र पौडेलले सहजीकरण गरेका थिए । प्रमुख कर अधिकृत पौडेलले आगामी आ.व. बाट धेरैजसो सेवामूलक व्यवसायहरु अनिवार्य मूल्य अभिबृद्धि करमा जानुपर्ने पनि जानकारी गराए । जानकारीसंगसंगै अन्तक्र्रियात्मक रुपमा आयोजना गरिएको कार्यक्रममा विभिन्न बस्तुगत संघसंस्थाका अध्यक्ष एवम् प्रतिनिधिहरु, साधारण उद्योगी व्यवसायीहरुले संशोधित कर व्यवस्थाबाट पाउने सुविधा र यसबाट सामान्य उद्योग तथा व्यवसायमा भोलिका दिनमा पर्न सक्ने असरहरुको बारेमा जिज्ञासा राखेका थिए । सहभागीहरुको जिज्ञासा आन्तरिक राजस्व कार्यालयका कर अधिकृत दिलक आचार्यले प्रष्ट्याएका थिए ।

संघका महासचिव प्रमोद सिंह रानाभाटले संचालन गरेको कार्यक्रममा संघका बस्तुगत उपाध्यक्ष रामप्रसाद न्यौपानेले मूल्य अभिबृद्धिमा स–साना उद्योग व्यवसायलाई अनिवार्य गरिंदा पर्ने समस्याको समाधानार्थ नेउवामहासंघमार्पmत आवश्यक पहल गर्ने बताए । समापन मन्तव्य राख्दै संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले सरकार जसरी पनि कर असुल्न लागिपरेको र यसले भोलिका दिनमा स–साना व्यवसायीहरुमा समस्या सिर्जना हुन सक्ने प्रति सचेत गराए । कार्यक्रममा संघका सचिवद्वय काव्यमणि अधिकारी, विष्णुगोपाल महर्जन, कासस दिवस पराजुली, रवि कडेल शर्मा, कृष्णप्रसाद ढुंगाना, कुलप्रसाद चौलागाई, सुनिल अधिकारी, निलम पाण्डे, विशेष आमन्त्रित सदस्य भूपेन्द्र अधिकारीलगायतको उपस्थिति रहेको थियो ।