भण्डारी कलेजलाई नमूना बनाउनुपर्नेमा मुख्यमन्त्री पौडेलको जोड
गुगलपाटी संवाददाता काठमाडौँ, १४ असारप्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पाँच वर्षभित्र मुलुुकको परिवर्तन गर्ने बताउनुभएको छ ।
भण्डारी मेमोरियल कलेजको १७औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले जनताले अनुभूति गर्ने खालेका काम गरी पाँच वर्षभित्र मुलुकको विकास गर्ने बताउनुभएको हो ।
नयाँ गतिका साथ विकास निर्माण गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री पौडेलले ‘समृद्ध नेपाल र सुखी नेपाल’को अभियानलाई सबैले आत्मसात् गर्नुपर्ने बताउनुभयो । स्व. नेता भण्डारीको नाममा स्थापित यस कलेजलाई नमूना कलेजका रुपमा विकास गर्नुपर्ने जोड दिँदै उहाँले भन्नुभयो, “ यो कलेज अन्य कलेजभन्दा फरक उत्कृष्ट कलेज बनाउनुपर्दछ ।”
सांसद कृष्ण राईले कलेजलाई अझ विस्तार गरी छुट्टै पहिचान दिलाउनु पर्नेमा जोड दिँदै मदन भण्डारीको नाम र विचारलाई स्थापित गर्न जरुरी छ भन्नुभयो ।
सहायक क्याम्पस प्रमुख निरुजा फुयालले कलेजलाई विश्वविद्यालय बनाउन तयारीका साथ काम भइरहेको र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताउनुभयो । उहाँले कलेजले गरिबी, असहाय र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिरहेको पनि जानकारी दिनुभयोे ।
सोही अबसरमा मुख्यमन्त्री पौडेलले पत्रकार भवानीश्वर गौतमलाई ‘मदनभण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५’ प्रदान गर्नुभयो । रु २५ हजार राशि रहेको उक्त पुरस्कार हरेक वर्ष शिक्षा क्षेत्रमा योगदान पु¥याउने पत्रकारलाई प्रदान गरिदै आएको छ । कलेजमा दशजोड दुईदेखि स्नातकोत्तर तहसम्म करीब एक हजार २०० विद्यार्थी अध्ययनरत छन् । (रासस)