संसद्मा सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत
गुगलपाटी संवाददाता काठमाडौँ, १४ असारसांसद खगराज अधिकारीले प्रतिनिधिसभामा निर्माणाधीन खानेपानी, सडक, ढल, पुलेसा, सिँचाइका आयोजनाको उचित व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गर्दै सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।
सांसद अधिकारीले प्रतिनिधिसभाको आजको बैठकमा ‘देशभर निर्माणाधीन अवस्थामा रहेको चालु आव २०७५÷७६ सम्म सरकारको छनोटका खानेपानी, सडक, ढल, पुलेसा, सिँचाइ र अन्य आयोजना सम्पन्न गरी तत् प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने व्यवस्था मिलाउन आवश्यक भएको’ भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।
उहाँले संविधानले संघ, प्रदेश र स्थानीय तहको अधिकार बाँडफाँड गरेको अवगत गराउँदै निमार्णाधीन खानेपानी, सडक, ढल, पुलेसा, सिँचाइ र अन्य आयोजना प्रदेश तहमा हस्तान्तरण गरे पनि प्रदेशमा आवश्यक उपकरण, स्रोतसाधन र जनशक्तिको कमी रहेको बताउनुभयो ।
सांसद अधिकारीले त्यस्ता आयोजनाका बारेमा प्रदेशमा संघले गरोस् भन्ने मान्यतासमेत रहेको उल्लेख गर्नुभयो ।
उक्त प्रस्तावका समर्थक सांसद विशाल भट्टराईले एक सरकारले शुरु गरेको आयोजना अर्काे सरकारले अविछिन्न रुपमा सम्पन्न गर्नुपर्ने र निर्माणाधीन आयोजनालाई बेवारिसे अवस्थामा छोड्न नहुने बताउनुभयो ।
सांसद धु्रवकुमार शाहीले प्रस्तावको समर्थन गर्दै कुनै पनि खानेपानी, सडक, ढल, पुलेसा, सिँचाइसम्बन्धी आयोजना सम्पन्न गरी हस्तान्तरण गरेपछि मात्र नयाँ आयोजना शुरु गर्दा उपयुक्त हुने धारणा व्यक्त गर्नुभयो ।
प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद मीनबहादुर विश्वकर्माले बजेट विनियोजनमाथिको छलफल चलिरहेका बेला छलफललाई प्रभावित गर्ने गरी सत्ता पक्षकै सांसदबाट सार्वजनिक महत्वको प्रस्ताव आउँदा शंका उत्पन्न भएको छ भन्नुभयो । (रासस)