गृहमंत्रीले भने : त्यही केटी चाहिन्छ भन्नु अधिनायकवाद

गुगलपाटी संवाददाता काठमाडौं
१४ असार २०७५ ०९:१६

माइतीघर मण्डलालाई निशेधित क्षेत्र घोषणा गरिएकोमा आपत्ति जनाइरहेका डा. गोविन्द केसीलाई गृहमन्त्री रामबहादुर थापा बादलले उनी आफैं अधिनायकवादी भएको आरोप लगाएका छन् ।

विहीबार गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरेर गृहमन्त्री थापाले डा. केसीलाई लक्षित गर्दै भने ‘मैले त्यही ठाउँमा विरोध प्रदर्शन गर्न पाउनुपर्छ, अन्यत्र गर्नुहुँदैन भन्नु त्यो अधिनायकवाद हो ।’

डा. केसीले हठ गरेको दाबी गर्दै मन्त्री थापाले व्यंग्यात्मक शैलीमा भने ‘अधिनायकवादको अर्थ के हो त भन्दाखेरि मलाई त्यही केटी चाहिन्छ भन्ने पनि हो १ हजारौं ठाउँहरु खुल्ला छन्, अन्त विरोध प्रदर्शन गर्न नचाहने, त्यही ठाउँ (मण्डला) मा मात्रै गर्न चाहने भन्ने कुरो अधिनायकवाद हो ।’

डा. गोविन्द केसीको मागलाई ठाडै अस्वीकार गर्दै मन्त्री थापाले त्यहाँ विरोध प्रदर्शन गर्न दिँदा नागरिकहरुको अधिका हनन हुने जिकिर गरे । मन्त्री थापाले भने  ‘माइतीघर मण्डलाजस्तो ठाउँमा विरोध प्रदर्शन गर्न दिने हो भने त त्यहाँ पुरै यातायात जाम हुन्छ । यातायात जाम भयो भने अन्य नागरिकहरुको अधिकार अतिक्रमण हुन सक्छ । त्यसैले यो कुरा नागरिकहरुको अधिकारसँग जोडिएको कुरा हो । सुरक्षासित जोडिएको प्रश्न पनि हो ।’