आज असार प्रन्ध : धान रोपाइ आधा पनि भएन
गुगलपाटी संवाददाता मकवानपुरनिर्धारित समयभन्दा पहिला मौसम सक्रिय हुँदा त्यसको प्रभाव रोपाइँमा पनि परेको छ । समयमा मनसुन सक्रिय भएकाले असार लागेसँगै मुलुकभर रोपाइँ सुरु भएको हो ।
असार १५ भित्र साढे १२ प्रतिशत जमिनमा रोपाइँ सकिएको छ । रोपाइँले अहिले तीव्रता पाएको छ । कृषि विभागका महानिर्देशक सूर्य पौडेलले पछिल्लो तीन वर्षको अवधिमा यो वर्षको असार पहिलो साता उल्लेख्य परिमाणमा रोपाइँ भएको बताए ।
२०७२ को असार पहिलो साता देशभर सात दशमलव आठ प्रतिशत र २०७३ को यस अवधिमा नौ दशमलव १५ प्रतिशत रोपाइँ भएको थियो । २०७४ को असार पहिलो साता आठ दशमलव ८६ प्रतिशत हाराहारी रोपाइँ भएको विभागको अभिलेखले देखाउँछ । नेपालमा १५ लाख हेक्टरमा धान खेती गरिँदै आएको छ ।
कृषि प्रसार निर्देशनालयका कृषि प्रसार अधिकृत कमलदास शर्मा साढे १२ प्रतिशत जग्गामा रोपाइँ भएको बताए । उनले भने, ‘यो वर्ष उच्च पहाडी क्षेत्रमा २६, मध्य पहाडमा १८ दशमलव ११ र तराईमा नौ दशमलव ७४ प्रतिशत रोपाइँ भएको छ ।’
‘तुलनात्मक रूपमा अन्न भण्डार मानिने तराईमा उपलब्धिपूर्ण रोपाइँ सुरु हुन सकेन’, प्रसार अधिकृत शर्माले भने । उनकाअनुसार अहिलेसम्म सबैभन्दा बढी रोपाइँ सुदूरपश्चिममा छ । तुलनात्मक रूपमा सुदूरपश्चिमको बझाङमा ७० र हुम्लामा ८० प्रतिशत हाराहारी रोपाइँ सकिएको छ ।
बाँकेमा रोपाइँ नै सुरु भएको छैन । कपिलवस्तुमा १०, रूपन्देहीमा १५, नवलपरासीमा ३०, मोरङमा पाँच, सुनसरीमा १५, सप्तरी र सिरहामा एक र झापामा एक दशमलव पाँच प्रतिशत हाराहारी रोपाइँ भएको छ ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले मनसुन देशभर एकनाश नभएका कारण तराईसहित अन्य क्षेत्रमा पानीको चर्को अभाव रहेको बताए । धानको उत्पादनमा हुने उतारचढावले मुलुकको कुल गार्हस्थ उत्पादनमा प्रत्यक्ष प्रभाव पार्छ । खेती गरिने कुल क्षेत्रफलको ४७ दशमलव पाँच प्रतिशत जमिनमा धान खेती हुन्छ । यसमध्ये क्षेत्रफल र उत्पादनका आधारमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशत छ । विज्ञहरूका अनुसार रोपाइँका लागि सबैभन्दा उत्तम समय असार १५ देखि साउन १५ सम्म मानिन्छ । यो अवधिसम्म धान उत्पादनको मूल्य थलो तराईमा अत्यन्त थोरै परिमाणमा रोपाइँ हुने गरेको छ । साउनपछि हुने रोपाइँले अत्यन्त कम उत्पादन दिन्छ ।
नेपालमा मौसमका आधारमा चैते धान, बर्खे धान, भदैया धान, घैया धान र हिउँदे धान (बोरो धान) खेती हुँदै आएको छ । गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा एक दशमलव पाँच प्रतिशतले धान उत्पादनमा कमी आएको थियो । सरकारी आँकडाअनुसार यो वर्ष ५१ लाख ५२ हजार मेट्रिक टन धान फलेको थियो । आर्थिक वर्ष २०७३÷७४ मा ५२ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । कुल खाद्यान्नमध्ये धानले ५० प्रतिशत हिस्सा ओगटेको छ ।
नेपालको कूल जनसंख्याअनुसार स्वदेशमै धान उत्पादन नहुँदा बर्सेनि अर्बौं मूल्यको चामल भारतलगायत तेस्रो मुलुकबाट आयात हुने क्रम जारी छ । नेपालको कुल जनसंख्याको करिब दुई करोड ८९ लाख ८२ हजार सात सय ७१ जनालाई दुई छाक गरी वर्षभरी टन्न पेट भरी भात खुवाउन ३९ लाख ९९ हजार ६ सय २२ मेट्रिक टन चामलको आवश्यकता पर्छ ।
भन्सार विभागकाअनुसार यो वर्षको पहिलो १० महिनामा २४ अर्ब ४९ करोड ८० लाख मूल्यबराबरको ६ लाख २५ हजार सात सय सात मेट्रिक टन चामल भारत, चीन, थाइल्यान्ड, अमेरिका, इटली र जापानबाट आयात भएको छ । सबैभन्दा बढी भारत र जापानबाट आयात हुने गर्छ ।