धान दिवसमा मन्त्रीको घोषणा : १४ सय ५० युवालाई रोजगारी
गुगलपाटी संवाददाता हेटौंडा, १५ असारतीन नम्बर प्रदेशका भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आगामी आर्थिक वर्ष २०७५/७६ मा १४ सय ५० युवालाई स्वरोजगार बनाउने भएको छ । भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले १४ सय ५० युवालाई स्वरोजगार बनाउन बजेटको समेत ब्यवस्था गरिसकेको जानकारी दिए ।
१५ औं धान दिवसको अवसरमा शुक्रबार हेटौंडा १९ नेवारपानीमा आयोजित कार्यक्रमा बोल्दै मन्त्री लामाले भने, ‘हामीले बजेटको ब्यवस्था पनि गरिसकेका छौं,विदेशबाट फर्किएका युवाहरुलाई पहिलो प्राथमिकता दिएर काम गर्छौ ।’
अब युवालाई विदेश पठाउने नभई कृषिमा आकर्षित गर्नसक्नुपर्ने उनको भनाई छ । नयाँ आर्थिक वर्षमा युवालाई कृषि क्षेत्रमा स्वरोजगार बनाउने लक्ष्यका साथ मन्त्रालयले काम थालेको उनले बताए ।
कार्यक्रमा जिल्ला कृषि विकास कार्यालय मकवानपुरका प्रमुख निर्मल गदालले मकवानपुरमा धान उत्पादनको अवस्थाबारे जानकारी गराएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिारी चक्र बहादुर बुढा, हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना लामा, जिल्ला समन्वय समितिका सभापति रघुनाथ खुलाल लगायतको आतिथ्यता रहेको थियो । १९ नम्बर वडा अध्यक्ष नवराज सुवेदीको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
प्रदेश तीनमा १५ प्रतिशत धान रोपाई सकियो
प्रदेश तीनका १३ जिल्लामा हालसम्म करिब १५ प्रतिशत धान रोपाई सकिएको भूमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । एक लाख २९ हजार हेक्टर धान खेती हुने जमिन रहेकोमा गत वर्ष प्रदेश तीनमा चार लाख ३८ हजार आठ सय ३१ मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयको तथ्याङ्क छ ।
प्रदेश तीनको राजधानी हेटौंडा रहेको मकवानपुरमा पनि १५ प्रतिशत मात्रै रोपाइ सम्पन्न भएको जिल्ला कृषि विकास कार्यालय मकवानपुरकी बाली बिकास अधिकृत रचना देवीले जानकारी दिईन् । उनका अनुसार मकवानपुरको कुल खेती योग्य जमिन मध्ये ११ हजार हेक्टर क्षेत्रफलमा धान खेती लगाउने गरिन्छ ।