भाइरलको जोखिम, पत्तै नपाइ जान सक्छ ज्यान

गुगलपाटी संवाददाता काठमाडौं
१६ असार २०७५ ०२:०१

सामान्य ज्वरो अनुभव भएपछि दुई दिनअघि मात्र जँचाउन अस्पताल गएका पत्रकार यादव थपलिया एकाएक सघन उपचार कक्ष (आईसियू) मा पुग्ने अवस्था सिर्जना भयो । भाइरल इन्फ्लुएन्जाको संक्रमण पत्तो लागेपछि भेन्टिलेटरमा राखेर सघन उपचारमा जुटेका चिकित्सकले थपलियालाई बचाउन सकेनन् । र, शुक्रबार अपरान्ह पौन तीन बजे उनको निधन भएको खबर बाहिर आयो ो

चिकित्सकहरू भन्छन्– पत्रकार थपलिया मात्र होइन, उनीजस्तै धेरै बिरामीलाई भाइरल इन्फ्लुएन्जाले आकस्मिक रूपमा मृत्युको मुखमा लैजाने गरेको छ । तर भाइरल प्रकोपबारे नेपालका सरकारी र निजी अस्पतालहरूसँग कुनै तथ्यांक छैन ।

भाइरलसँग सम्बन्धित रोगले गर्दा अमेरिकामा बर्सेनी झण्डै ३६ हजार व्यक्तिको ज्यान जाने गरेको तथ्यांक छ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्, ‘नेपालमा भने यसबारे अध्ययन हुन सकेको छैन ।’

वर्षायामको सुरुवातसँगै भाइरल प्रकोपबाट बालबालिका र ज्येष्ठ नागरिकका साथै श्वासप्रश्वासका बिरामीहरू बढी जोखिममा पर्ने गरेका छन् ।

चिकित्सकहरूका अनुसार नेपालमा भाइरल इन्फ्लुएन्जा ए र बीको जोखिम बढी छ ।

पश्चिमी देशमा विशेष गरी जाडो समयमा देखा पर्ने भाइरल इन्फ्लुएन्जा नेपालमा भने वर्षायाम र जाडो दुवै समयमा देखिने गरेको छ । कतिपय देशमा भने बाह्रै महिना भाइरल देखा पर्ने गरेको छ । ‘नेपालमा भाइरल इन्फ्लुएन्जा सुरु हुने बेला भइसकेको छ’, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रिसर्च युनिटका संयोजक समेत रहेका डा. पुनले भने, ‘निमोनिया हुनुको मुख्य कारण नै फ्लु हो ।’

श्वासप्रश्वास र छातीसँग सम्बन्धित समस्याका दीर्घ रोगीहरूलाई भाइरल इन्फ्लुएन्जाले बढी जोखिममा पार्ने गरेको छ ।

भाइरल इन्फ्लुएन्जा ‘ए’अन्तर्गत स्वाइन फ्लु, बर्ड फ्लु र हङकङ फ्लु पर्दछ । अन्य इन्फ्लुएन्जाभन्दा ए र बी नेपालमा बढी देखा परेको डा. पुनले बताए ।

त्रिवि शिक्षण अस्पताल महराजगन्जका पल्मोनोलोजी एन्ड क्रिटिकल केयर मेडिसिन विभागका उपप्राध्यापक डा. निरज बमका अनुसार भाइरल इन्फ्लुएन्जाको संक्रमण भएमा रुघा लाग्ने, ज्वरो आउने, खोकी लाग्ने, टाउको तथा घाँटी दुख्ने लगायतका लक्षण देखा पर्छन्।

त्यस्तै शरीर दुख्ने, छाती घ्यारघ्यार हुने, स्वाँस्वाँ हुने र बान्ता समेत हुन सक्छ । कसै–कसैलाई पेट दुख्ने एवं पखाला लाग्ने लगायत लक्षण देखिन सक्छन् ।

डा. बमका अनुसार भाइरल इन्फ्लुएन्जाले जटिलताको रूप ग्रहण गर्दै निमोनिया, सेप्सिस र एक्युट रेस्पिरेटरी डिस्टे«स सिन्ड्रोम (एआरडीएस)समेत हुन सक्दछ । उनले भने, ‘अहिलेको समय सिजनल इन्फ्लुएन्जाको समय हो । सबैजना सतर्क रहनु आवश्यक छ ।’

‘भ्याक्सिन लगाऊँ’

डा. पुनका अनुसार भाइरल इन्फ्लुएन्जा ठ्याक्कै ठीक पार्ने औषधि नबनेका कारण निको पार्न सहयोग पु¥याउने औषधिको सेवन गराइन्छ । सतर्कता अपनाउनका लागि भ्याक्सिन लगाउनु पर्ने डा. पुनको सुझाव छ ।

‘छ महिनाभन्दा माथिका व्यक्तिका लागि यस्तो भ्याक्सिन लगाउन मिल्छ’, पुनले भने, ‘लक्षण देखिनु दुई साताअघि नै भ्याक्सिन लगाउनु उपयुक्त हुन्छ ।’

अन्नपूर्ण पोष्टबाट