हामी सदन अबरुद्ध गर्छौ : बानियाँ
गुगलपाटी संवाददाता हेटौंडा,१७ असारतीन नम्बर प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता इन्द्र बानियाँले प्रदेशसभा अबरुद्ध गर्ने चेतावनी दिएका छन् । आईतबार प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षको बिनियोजन विधेयकमाथि बोल्दै उनले सरकारले प्रतिपक्षको अवमूल्यन गरे सद अवरुद्ध गर्ने चेतावनी दिएका हुन् ।
छलफलमा भाग लिंदै बानियाँले सपना ठूलो बाँड्ने प्रदेश सरकारले बजेट विनियोजन गर्दा भने थोरै बाँडफाँड गरेको बताए । ‘स्थानीय तहले जस्तो २–४ लाख रुपैँयाको बजेटसमेत प्रदेश सरकारले विनियोजन गरेर यो के गर्न खोजिएको हो ?’, उनले प्रश्न गरे ।
उनले प्रदेश गौरवका योजना भनेर नामाकरण गरेर बजेट नछुट्याउने हास्यास्पद काम भएको बताए । ‘भोजभतेर, तालिम, सेमिनार, गोष्ठीमा बजेट छुट्टयाएर अनियमिता गर्न खोजिएको छ’, उनले भने, ‘मन्त्रीमुखी, नारामुखी र एकांकी खालको बजेट आएको छ ।’ बजेटप्रति आफुहरुको पूर्ण असहमति रहेको भन्दै नसच्चिए सदन अवरुद्ध समेत गर्ने चेतावनी दिएका हुन्।
सतापक्षले गरे बचावट
बैठकमा बोल्दै सत्तापक्षीय प्रदेशसभा सदस्य सिता अधिकारीले बजेटबारे बोल्दा सन्तुलन कायम गर्नुपर्नेबारे आफु जानकार रहेको भन्दै तर बजेटप्रति सन्तुष्ट नरहेको बताईन् । उनले योजना मागेर मन्त्रीहरुले आफुहरुलाई झुक्याएको गुनासो गरिन् । सत्तापक्षीय प्रदेशसभा सदस्यहरु प्रदिपकुमार कटुवाल क्षेत्री केसी, रामकाजी श्रेष्ठ, सिता लामा, शशीजंग थापा लगायतले प्रदेशस्तरीय यातायात व्यवस्था कार्यालय आवश्यक रहेको, बजेट समृद्धिको लक्षतर्फ उन्मुख भएको र सन्तुलित ढंगले आएको बताएका थिए ।
राप्रपाकी प्रदेशसभा सदस्य रिता माझीले नेताहरुको नाममा शालिक, पार्क, उद्यानमा ठूलो बजेट खर्च गरिएकोप्रति कटाक्ष गर्दै शालिक जोगाउन समेत बजेट विनियोजन गर्न सुझाव दिईन् । उनले शव्दले मात्रै समृद्धि नआउने भन्दै समानुपातिक बजेट वितरणमा सरकार चुकेको बताईन् ।
बैठकमा विपक्षी नेपाली कांग्रेसका प्रदेशसभा सदस्य विजया केसी श्रेष्ठ, न्हुच्छेनारायण श्रेष्ठ, पुकार महर्जन लगायतले बदनियतपूर्ण ढंगले मन्त्रीमुखी बजेट ल्याईएको भनदै विरोध गरे । उनीहरुले विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भईसकेका योजनामा पुन डिपिआरका लागि बजेट विनियोजन भएकोप्रति आपत्ति जनाए ।