अझै दुई दिन देशभर भारी वर्षा हुने
गुगलपाटी संवाददाता काठमाडौं मनसुन पूर्ण रुपमा सक्रिय भएसँगै आइतबार साँझबाट देशैभर मध्यमदेखि भारी वर्षा भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा नेपालतर्फ सरेकोले अझै दुई दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम, केही स्थानमा भारी र एक दुई स्थानमा अत्याधिक वर्षा हुनेछ ।
मनसुन न्यून चापीय रेखा तराईको आसपासमै रहेकाले बुधबारसम्म बदली र वर्षाको सम्भावना रहेको मौसमविद् सुवास रिमालले बताएका छन् । मनसुन रेखा क्रमशः दक्षिणतर्फ सरेपछि मात्र नेपालमा वर्षा कम हुन्छ । १४ असारदेखि मनसुन देशैभर फैलिएका कारण बदलीसँगै वर्षा भइरहेको छ ।
आइतबार साँझदेखि देशका अधिकांश भेगमा वर्षा भएको छ । अहिले पनि काठमाडौँ उपत्यकासहित देशैभर बदलीसँगै वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
मौसमविद् रिमालका अनुसार अहिले वर्षा मध्य र पश्चिमी भेगमा केन्द्रीत भएको र साँझबाट मध्य र पूर्वी भेगमा केन्द्रीत हुनेछ । गएराति र सोमबारको तुलनामा मंगलबार र बुधबार वर्षा कम हुनेछ । महाशाखाको पछिल्लो विवरणअनुसार सोमबार सबैभन्दा बढी नेपालगञ्जमा १८७, भैरहवामा १६६, दाङमा १०६, धनगढीमा ९९, वीरेन्द्रनगरमा ८५ र विराटनगरमा ५९ मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा १५ मिलिमिटर वर्षा भएको छ ।