जीप दुर्घटना हुँदा ६ जना भारतीय नागरिकको मृत्यु(अपडेट)
गुगलपाटी संवाददाता सुनसरीसुनसरीको कोसी गाउँपालिका ४ स्थित कोसी कटान क्षेत्रमा जीप खस्दा ६ जनाको मृत्यु भएको छ । भेडेटार भ्रमण गरी फर्कंदै गरेको भारतीय टोली चढेको जीप खस्दा तीनजनाको घटनास्थलमै र अरु तीनजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा भारतको सुपौलका सञ्जीवकुमार, गोनुकुमार र अन्दाजी ४० वर्षीया एक महिलाको उपचारका क्रममा विराटनगरस्थित एक अस्पतालमा मृत्यु भएको हो । तीनजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले स्काइभेटर प्रयोग गरी गाडीलाई पानीबाट बाहिर निकाल्दा त्यसैमा तीनजनाको शव भेटिएको थियो । उनीहरुको सनाखत हुन सकेको छैन ।
प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार लम्सालका अनुसार बीआर ०६ बीपी ६४१८ नम्बर बोलेरो जिप राति साढे ९ बजेटिर अनियन्त्रित भइ कटान क्षेत्रमा जमेको पानीमा खसेको थियो ।
दुर्घटजनामा घाइते हुनेहरुमा भारत सुपौलकै आदिपकुमार, ललनकुमार र कन्चनकुमारी छन् । जिपका चालक भारत ब्रहमपुराका सुशील कामत भने सकुशल रहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।