प्रोजियोकेममा बगरियाको मनोमानी मजदुरको बिचल्ली

गुगलपाटी संवाददाता हेटौंडा,२० असार
२० असार २०७५ १४:२५

हेटौंडा औद्योगिक क्षेत्रस्थित प्रोजियोकेम इन्डष्ट्रिज प्रालिबाट मजदुर निष्काशन गर्न सञ्चालक आनन्द बगरियाले उद्योगको प्लान्ट स्थानान्तरणको नाटक रचेका छन् । बाराको बहुअरीमा रहेको प्रोजियोकेम प्रालिको हेटौंडास्थित शाखा उद्योगबाट एउटा प्लान्ट पुनः बारा लैजाने बाहानामा मजदुर निष्काशन गर्न लागिएको हो ।

डेढ वर्ष अघि हेटौंडा औद्योगिक क्षेत्रस्थित एभरेष्ट पोलिमर्स खरिद गरेका बगरियाले उक्त उद्योगमा प्रोजियोकेम उद्योग सञ्चालन गरेका थिए । उक्त उद्योगमा रहेको फेन्सी पसलहरुमा प्रयोग हुने प्लास्ष्टिक झोला उत्पादन गर्ने मेसिन पुनः बारा लैजान लागिएको हो । मेसिनसँगै १६ जना मजदुरलाई पनि बारा सरुवा गरिएपछि त्यहाँका मजदुरहरु आन्दोलित भएका छन् ।
मजदुर निष्काशन खेल पुरानै


बारास्थित प्रोजियोकेम उद्योग उद्योग हेटौंडा स्थानान्तरण गर्न लागिएको भन्दै त्याँहाका ३८ जना मजदुरलाई पनि हेटौंडा सरुवा गरिएको थियो । तर हेटौंडामा ती मजदुरहरुलाई उद्योगमा हाजिर हुन दिइएन । ‘सात दिनभित्र उद्योगमा हाजिर हुन भनियो तर उद्योगको गेटबाट ती मजदुरहरुलाई भित्र छिर्न दिइएन’, उद्योगमा काम गरेका एक पूर्व कर्मचारीले भने, ‘तीन पटकसम्म त्यसरी सूचना निकालेर अन्तत उद्योगमा हाजिर नभएको भन्दै ३८ जना मजदुरलाई नै बर्खास्त गरियो ।’ उद्योग स्थानान्तरणको नाममा हटाइएका ती मजदुरहरु अहिले पनि आन्दोलनमा नै रहेका छन् । ‘हामीलाई न्युनतम श्रम ऐनले भनेको सेवा सुविधा पनि दिइएन’,एक मजदुरले भने,‘हेटौंडामा हाजिर हुन आएका हामीहरुलाई उद्योगभित्र छिर्न नदिएर षड्यन्त्रपूर्वक जारिनै खाइदियो ।’


बाराकै शैलिमा हेटौंडाबाट मजदुर निष्कासनको प्रपन्च रचिएको भन्दै हेटौंडास्थित उद्योगका मजदुरहरुले उद्योगबाट मेसिन लैजान अबरोध गरेको थियो । अबरोध लगत्तै उद्योगले प्रहरी लगाएर बुधबार बिहान १४ जना मजदुरलाई पक्राउ गरेको छ । उद्योगका प्रबन्धक शैलेश लामिछानेले मेसिन निकाल्ने र मजदुर सरुवा उद्योगको आन्तरिक कुरा भएको बताए । ‘यो हाम्रो आन्तरिक कुरा हो, मिडियामा ल्याउन जरुरी छैन’, उनले भने, ‘उद्योगको मेसिन र मजदुर जता लैजान पनि पाईन्छ ।’
उद्योगका सञ्चालक बगरियासँग यस बारे बुझ्न खोज्दा फोन उठाएननन् । उद्योग संघ मकवानपुरक अध्यक्ष नवराज अर्यालले उद्योग सञ्चालक र मजदुरहरुलाई राखेर समस्या समाधानको प्रयास भइरहेको बताए ।

हेटौंडास्थित उद्योगले रंगरोगनमा प्रयोग हुने अल्काईड रेजिन, प्लास्टिक बनाउन प्रयोग हुने डिओपी केमिकल, धुप बनाउन प्रयोग हुने डिइपी केमिकल उत्पादन गर्दै आएको छ । भने इमल्सन प्लान्ट निर्माणाधिन अवस्थामा रहेको छ ।