प्रदेश तीनकी प्रमुख कोइरालाको पद धरापमा

गुगलपाटी संवाददाता हेटौंडा,२१ असार
२१ असार २०७५ ०५:५५

सरकारले सात प्रदेशका प्रमुखहरूलाई हटाउने निर्णय गरेसँगै प्रदेश तीनकी प्रदेश प्रमुख अनुराधा कोइरालाको पद पनि धरापमा परेको छ ।

एक गैर सरकारी संस्था माइती नेपालीकी संचालिका रहेकी कोइरालालाई पूर्ववर्ती देउवा सरकारले प्रदेश तीनका लागि तोकेको थियो । काँग्रेस निकट तर स्वच्छ छवीकी मानिने कोइरालालाई पनि हटाउने र नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने अब बाम सरकारको तयारी रहेको छ । बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई हटाउने निर्णय गरेको कानूनमन्त्री शेरबहादुर तामाङले जानकारी दिए।

प्रतिनिधिसभा र प्रदेश सभा चुनावको आचारसंहिता लागू भएदेखि निर्वाचित सरकार गठन हुँदासम्मका सबै राजनीतिक नियुक्ति फिर्ता लिने निर्णय भएको छ मन्त्री तामाङले भने, प्रदेश प्रमुखहरूको नियुक्ति पनि राजनीतिक हो र सातै प्रदेशका प्रमुखलाई हटाउने निर्णय भएको छ।

मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा निर्वाचनको आचार संहिता लागू भएको भदौ १४ देखि नयाँ सरकार बनेको फागुन ३ बीचका सबै राजनीतिक नियुक्त खारेज गर्ने निर्णय गरेको हो।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले माघ ३ गते सातै प्रदेशमा प्रमुखहरू नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र प्रदेश सातमा मोहनराज मल्ल प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन्।

मन्त्रिपरिषद्ले प्रदेश प्रमुख हटाउन गरेको सिफारिस राष्ट्रपतिले स्वीकृत गरेपछि उनीहरू पदमुक्त हुने संवैधानिक व्यवस्था छ।