बाटो बन्यो
गुगलपाटी संवाददाता हेटौडा, २४ असारहेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ हात्तिगौँडामा महिला सेवा बचत नजिकैको बाटोमा बाटो ढलान कार्य सकिएको छ ।
८ लाखमा टेण्डर आह्वान गरिएको बाटो ढलान करिब २३ प्रतिशत कममा टेण्डर स्विकृत भइ ठेकदारमार्फत निर्माण गरिएको वडा नम्बर १२ का अध्यक्ष ललित घलानले जानकारी दिए । ५६ मिटर लम्बाई, ६ मिटर चौडाई भएको स्ल्याब १७ इन्च मोटाईको रहेको छ । वडा मार्फत नै ग्राभेल तथा स्ल्याब ढलानका योजनाहरु असार अगावै सकिएको अवस्थामा सडक डिभिजनमार्फत ठेकदारद्वारा असारमा स्ल्याब गरिएपछि स्थानीयले वर्षाका समयमा सास्ती समेत भोग्नु परेको थियो ।
मेनरोडमा स्ल्याब गर्नुपरेका कारण आग्रलटोल–हात्तिगौँडा हुँदै सवारी संचालन गरिएको थियो । तर पानी परेका कारण बाटो नै हिलाम्य भएपछि केही दिन सवारी आवागमनलाई समेत स्थानीयले रोक लगाईदिएका थिए । हाल वडाकै समन्वयमा आग्रलटोल–हात्तिगौँडा सडकमा ग्राभलिङ गरेपछि सवारी साधनहरु सोही रुट भइ संचालनमा रहेको छ । स्ल्याब गरिएको बाटो केही दिन पश्चात संचालनमा आउने बताइएको छ ।