कालिकाटारका जनताले खोजे बिकासमा हिस्सा
गुगलपाटी संवाददाता कैलाश,२५ असारमकवानपुरको पश्चिमी कैलाश गाउँपालिका ३ कालिकाटारमा सार्वजनिक सुनवाई तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । कैलाश गाउँपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा साविक भार्ता, कालिकाटार र नामटारका सरोकारवाला ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमका सहभागिहरुले गाउँपालिकाले गरेको विकास निर्माण, गाउँका समस्या र गाउँपालिकासँगको अपेक्षाबारे कुरा उठाएका थिए । कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले पाँच वर्षभित्र कैलाशलाई नमुना गाउँपालिका बनाउनेगरी काम भइरहेको बताए । ‘हामी दृढ इच्छाशक्तिका साथ अघि बढिरहेका छौं’, उनले भने, ‘सिमिति स्रोत साधन र कर्मचारी अभावले काम गर्न समस्या भएको छ ।’
स्थानीय निकायहरुमा जनप्रतिनिधि अहिले पनि पाहुना जस्तै भइरहेको बताउँदै उनले जनप्रतिनिधि र कर्मचारीको काम गर्ने शैली नमिल्दा पनि केन्द्रदेखि स्थानीय तहसम्म समस्या भएको बताए । गाउँपालिकामा एउटा काम लिएर आउँदा पुन सोही कामको लागि गाउँपालिका आउनुनपर्ने बातावरण बनाइने मोक्तानको भनाई छ ।
गाउँपालिकाका कार्यकारी अधिकृत देवेन्द्र सापकोटाले चालु आर्थिक वर्षमा गाउँपालिकामा ४ सय ११ वटा योजनामध्ये ३ सय ११ वटा सम्पन्न भएको जानकारी दिए । शिक्षकको तलव ब्यवस्थापन गर्न गाउँपालिकालाई सबैभन्दा समस्याको विषय बनेको उनले बताए ।
कार्यक्रममा स्थानीयहरु डबलजंग तितुङ, पासाङ लामा, राम एकवाल यादव, जित बहादुर थोकर, राजदुत लामा लगायतले गाउँपालिकाले गर्नुपर्ने काम र सुधार गर्नुपर्ने विषयका बारेमा बोलेका थिए । कार्यक्रममा कैलाश ३ नम्बर वडा अध्यक्ष देवलाल तामाङ, ४ नम्बर वडा अध्यक्ष किरण मोक्तान, ७ नम्बर वडा अध्यक्ष उदास भ्लोन, ८ नम्बर वडा अध्यक्ष सुर्य बहादुर थिङ लगायतको आतिथ्यता रहेको थियो ।
गाउँपालिकाका अध्यक्ष टंक मोक्तानको सभाध्यक्षतामा भएको कार्यक्रमको ंसंयोजन एस.एम.एस. मिडिया प्रा.लि.ले गरेको थियो ।