प्रदेश तीनको राजधानीका लागि प्रतिवेदन बुझाइयो
गुगलपाटी संवाददाता हेटौंडा,२६ असारप्रदेश नम्बर ३ को राजधानीको स्थानको विषयमा अध्ययन गर्न बनेको समितिले मंगलबार प्रदेशसभालाई लिखित प्रतिवेदन बुझाएको छ ।
समितिले प्रतिवेदन पाँचबजे सभामुख सानुकुमार श्रेष्टलाई बुझाएको हो । समितिका सभापति दीपक निरौलाले श्रेष्ठलाई प्रतिवेदन बुझाएका हुन् । १२ जिल्लाबाट आएको सुझावको आधारमा जिल्ला तोकेर राजधानीको विषयमा आफूहरुले प्रतिवेदनमा उल्लेख गर्ने भन्दै निरौलाले सुझावका आधारमा प्रतिवेदन तयार गरिएको बताए ।
समितिले सांसद विशाल खड्काको संयोजकत्वमा प्रतिवेदन लेखन उपसमिति समेत निर्माण गरेको थियो । उपसमितिले प्रतिवेदनलाई अन्तिम रुप दिनको लागि अहिले गृहकार्य समेत गरिरहेको छ । साउनको पहिलो हप्ताबाट हुने प्रदेशसभाको बैठकले राजधानी र नामाकरणलाई अन्तिम टुंगो समेत लगाउने जनाइएको छ ।
केही प्रदेशसभाका सांसदहरुले राजधानीको लागि काभ्रे, नुवाकोट, चितवन तथा भक्तपुरको माग गरेपछि प्रदेशसभाले यो विषयलाई सहज ढंगबाट टुंगाउनका लागि समिति बनाइएको थियो । राजधानीको बिषयमा तयार पारिएको प्रतिवेदनले राजधानी हेटौंडा राख्ने वा नराख्ने बिषयमा भन्दा पनि सुझाव पेश गरेको बताइएको छ ।