राक्सिराङ ३ सरिखेतमा सार्वजनिक सुनुवाई : सडक निर्माणलाई प्राथमिकता

गुगलपाटी संवाददाता राक्सिराङ,२७ असार
२७ असार २०७५ १३:५२

मकवानपुरको पश्चिमी राक्सिराङ गाउँपालिका–३ सरिखेतमा सार्वजनिक सुनुवाई कार्यक्रम भएको छ । राक्सिराङ गाउँपालिकाले १,२,३ (साविकको सरिखेत) र ४ र ५ (साविकको राक्सिराङ गाविस) नम्बर वडालाई समेटेर गरेको सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।


कार्यक्रममा त्यस क्षेत्रका उपभोक्ता समिति, बिभिन्न टोल विकास, राजनीतिक दल, महिला समुहका प्रतिनिधिहरु र अन्य सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागिहरुले सडक निर्माण, बिभिन्न विषयगत क्षेत्रको बजेट खर्च, शुसासन र पारदर्शीताका बरेका प्रश्न गरेका थिए । सहभागिहरुको प्रश्नको जवाफ दिँदै गाउँपालिका अध्यक्ष राजकुमार मल्लले गाउँपालिकाले सिमिति स्रोत साधनकाबीच राम्रो काम गर्ने प्रयास गरिरहेको बताए । ‘हामीले कुनै भुगोल र समुदायलाई भेदभाव नगरी बजेट बितरण र विकासका कामहरु गरिरहेका छौं’, उनले भने ।
राजमार्गदेखि गाउँपालिका केन्द्रसम्म पुग्ने मोटरबाटो निर्माण र वडाहरुबाट गाउँपालिका केन्द्र पुग्ने सडक निर्माण पहिलो प्राथमिकतामा रहेको अध्यक्ष मल्लले बताए । मनहरीदेखि चैनपुर सडकमा यसै आर्थिक वर्षमा मोटर सञ्चाल गर्ने लक्ष्य राखेपनि जिल्ला समन्वय समिति र उपभोक्ता समितिका कारण पुरा नभएको बताए ।

‘जिल्ला समन्वय समितिले उक्त सडकमा बजेट लगानी गरेको पत्र दियो तर मोटरचल्ने बाटो निर्माणको स्टमेट देखिएन’, उनले भने, ‘उपभाक्ता समितिले पनि समयमा काम नसकाउँदा यसै आर्थिक वर्षमा काम सकाउन सकिएन ।’
गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिमडुङले न्यायीक समितिमा आएका बिवाद र मुद्धाहरुमा निष्पक्ष ढंगले छानबिन र निर्णयहरु गरिँदै आएको बताईन् । तर अझै पनि न्यायीक समितिमा भन्दा प्रहरीमा मुद्धा लिएर जाने क्रम बढि रहेको उनको भनाई छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले कार्यक्रमा तेस्रो गाउँसभाबाट पारित आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका थिए ।

गाउँ कार्यापालिका सदस्य सिमोन बिकले स्वागत मन्तब्य तथा सञ्चारकर्मी शिव कुमार काशीले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रममा बिभिन्न विषयत कार्यालका प्रमुखहरुको पनि उपस्थिती रहेको थियो । करिब डेढसय जना सरोकारवाला सहभागि कार्यक्रमको संयोजन एस.एम.एस. मिडिया प्रा.लि.ले संयोजन गरेको थियो ।