पहिरो खसेपछि हेटौंडा–काठमाडौं छोटोमार्ग फेरि अवरुद्ध

गुगलपाटी संवाददाता हेटौंडा
२९ असार २०७५ ०४:३७

गएरातिदेखि परेको वर्षाका कारण पहिरो झरेपछि हेटौंडा–काठमाडौं ओहोर दोहोर गर्ने छोटो दुरीको मार्ग अवरूद्ध भएको छ । सडकमा पहिरो खसेर हेटौंडा–फाखेल खण्ड अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा पूर्वी तराईको सर्लाहीदेखि चल्ने सवारी र यात्रु अलपत्र परेका छन् । हेटौंडा–फाखेल खण्डको महालक्ष्मी खोला र सुकौरा ड्याममा आएको पहिरोले सडक अवरुद्ध भएको प्रहरी चौकी फाखेलले जनाएको छ ।

ठूलो पहिरो झरेका कारण सडक चाँडै खुल्ने अवस्था नरहेको बताइएको छ । पहिरो पन्छाउनका लागि उपकरण पनि नभएका कारण समस्या भएको प्रहरीले जनाएको छ । सडक डिभिजन कार्यालय काठमाडौंले ठेक्का लगाएर काम गरी रहेको हेटौंडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली खण्डमा पनि पहिरो खस्दा यातायात सञ्चालन हुन सकेको छैन ।

इन्द्रसरोबर–२ छेपारेमा पहिरो खस्दा सो सडक पनि अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा पूर्वी नेपालको सर्लाही, रौतहट, निजगढ, बारा, पर्सादेखि आउने र काठमाडौंबाट फर्कने साना सवारी रोकिएका छन् । यो दुई छोटो मार्ग हुँदै दैनिक एक हजारभन्दा बढी सवारी सञ्चालन हुने गर्दछन् । यो मार्गमा दैनिक पाँच सयभन्दा बढी भाडाका सुमो सञ्चालन हुने गर्दछन् ।