बालुवाटारमा धर्ना बसेका ३१ अधिकारकर्मी पक्राउ
गुगलपाटी संवाददाता काठमाडौंप्रधानमन्त्रीको सरकी निवास बालुवाटार अगाडि धर्नामा बसेका अधिकारकर्मीहरूलाई प्रहरीले पक्राउ गरेको छ। सरकारका कतिपय निर्णयको मानव अधिकार तथा शान्ति समाजले वालुवाटार अगाडि गरेको धर्नाबाट प्रहरीले ३१ जना अधिकारकर्मीहरूलाई गिरफ्तार गरेको हो।
शनिबार दिउसो १ बजे धर्नाबाट प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा. गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव उत्तम पुडासैनी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष बटुकृष्ण ढुंगेल, केन्द्रीय सदस्य गीता तिमल्सिना, काठमाडौं शाखा सभापति रामकृष्ण बराल, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा, विभागीय संयोजकहरू जगन्नाथ पुडासैनी, बाबुराम न्यौपाने, अञ्जना अर्याल, विपी पौडेल सदस्यहरु सनत आचार्य, सरस्वती ढकाल, दिवाकर सिलवाल, गोकर्णमणी पुडासैनी, ईश्वर पुडासैनी, गोकुल पुडासैनी, सुरज बोहरा, रेजीना राई, किरण ढकाल, भगवान पुडासैनी, दुर्गा राना पुडासैनी, टिकाराम पौडेल, टंक गैरे, रमेश बराल, अर्जुन लामिछाने, दीपक पुडासैनी र प्रमोद पौडेलसहित ३१ जनालाई गिरफ्तार गरी महानगरीय प्रहरी वृत्त सिंहदरवारमा राखेको छ।
धर्नामा ‘सत्याग्रही भोकै छन् : नेपाली जनता रोएका छन्’, ‘ओली सरकारको उपहार : स्वतन्त्रतामाथि प्रहार’, ‘स्वतन्त्रता विरोधी निर्णय खारेज गर’, ‘स्वेच्छाचारी गतिविधि बन्द गर’, ‘शिक्षामा माफिया चलखेल अन्त्य गर’, ‘स्वास्थ्यमा माफिया चलखेल अन्त्य गर’, ‘सत्याग्रहीको जीवन रक्षा गर, अपराधिलाई संरक्षण बन्द गर’ लगायतका प्लेकार्ड प्रदर्शन गरिएको थियो।
नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको वर्तमान सरकारले आधारभुत स्वतन्त्रता र मानव अधिकार कुण्ठित हुने कतिपय निर्णय गरेको उनीहरूको आरोप छ। न्यायीक निर्णयहरूलाई समेत लत्याउँदै आपराधिक चरित्रलाई संरक्षण र प्रोत्साहन गरेको र पछिल्लो चरणमा सरकार हिंसात्मक प्रवृत्तिप्रति नरम र सत्याग्रहीहरुप्रति क्रुर बन्दै गएको उनीहरूको दावी छ।
अर्को धर्ना असार ३२ गते १ बजे नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आयोजना गर्ने समाजले जनाएको छ।