शुरु भयो शिवको महिना,आज लुतो फाल्ने दिन

गुगलपाटी संवाददाता मकवानपुर,१ साउन
१ श्रावण २०७५ ०६:१०

आज साउने संक्रान्ति । असार सकिएर श्रावण अथवा साउन महिना शुरु भएको छ । यो भगवान शिवको महिना हो, यसै कारण पनि यो महिनाको हरेक सोमबार अविवाहित महिलाहरूले व्रत बस्ने र राम्रो वर पाऊ भनि शिवको आराधना गर्ने चलन रहि आएको छ ।आज पशुपतिनाथ मन्दिरसहित देशभरका शिव मन्दिरहरूमा भक्तजनको विहानैदेखि भिड लागेको छ । भक्तपुरको डोलेश्वर महादेव, महोत्तरीको जलेश्वरनाथ, बारा जिल्लाको कलैयास्थित शिद्धेश्वर महादेव तथा बाराको काँटघाटधाम लगायतको बिभिन्न शिवालयहरूमा ठूलो घूँइचो रहने गर्दछ ।साउन महिनाबारे पौराणीक व्याख्या अनुसार यसै महिनामा समुन्द्र मन्थन भएको हो र त्यपछि हलाहल विष निस्केको उल्लेख छ । संसारलाई रक्षा गर्नकालागि भगवान शिव आफैले सो विषको सेवन गरेर हिमालय पर्वतमा गएर रहेको उल्लेख छ । साउन महिनामा शिवलिङ्गमा जल तथा वेली पुष्प चढाएमा शिव प्रसन्न हुने मान्यता छ । साउने संक्रान्तिबाट सूर्यले दक्षिणतर्फको यात्रा तय गर्नेभएकाले यस दिन विशेषलाई दक्षिणायन समेत भनिन्छ ।

सूर्यले आजको दिन मिथुन राशिबाट कर्कट राशि परिवर्तन गर्दछन् । कर्कट संक्रान्तिलाई श्रावण संक्रान्ति या साउने संक्रान्ति पनि भनिन्छ ।

साउन महिना र हरियो रंग :
साउन महिना वैदिक सनातन हिन्दु धर्मावलम्बिहरूको पवित्र महिना हो र यस महिनाको हरेक सोमबारको विशेष महत्व रहिआएको छ ।

विशेषतः श्रावणको प्रत्येक सोमबार महिलाहरू हरियो चुरा, लुगा, पोते र हात अनि गोडामा मेहन्दीको बुट्टा लगाएर शिव मन्दिरहरूमा जल, भाङ्ग, धतूरो तथा बेली पुष्प समर्पणगरी सफलता, सु–स्वास्थ्य तथा योग्य वर पाउँ भनी व्रत बस्ने चलन रहि आएको छ ।यो रंगीन महिनाको शुरुवात भनेकै कर्कट संक्रान्ति हो । हरियो रङ्गमा यस पर्वको विशेष अर्थ रहेको पाइन्छ । आफूले चाहेजस्तो जीवनसाथीको आकांक्षा र यसका अलावा परिवारजनमा सुख, शान्ती र कान्ती छाइरहोस् भनेर पनि रंगीन चुराहरु लाउने गरिन्छ ।

लुतो फाल्ने दिन :
साउन महिनामा सूर्य कर्कट राशीमा रहने भएकोले गर्मी अत्याधीक हुन्छ र साथै निरन्तर झरि पर्नेभएकाले मान्छेहरू आवतजावत गर्दा पानीमा रुझ्नसक्ने संभावना हुन्छ । त्यसमाथि कृषी अनि कृषीकार्य गर्दा पानीमा भिज्नु, माटोमा जोतिनु अनि हिलो उछिटिनु लगभग सामान्य झै हो ।

यसर्थ गर्मी र वर्षाको यो असरले बर्षाको महिनाहरूमा चर्म तथा छालासंग सम्बन्धित रोगहरु जस्तै लुतो, दाद, घमौरा या खटिराहरू आउनसक्ने संभावना अत्याधिक हुन्छ । त्यसैले साउने संक्रान्तिलाई लुतो फाल्ने दिनका रुपमा पनि लिइन्छ ।लुतो फाल्ने आ–आफ्नै खालका जनविश्वाश र चलन रहेको पाइन्छ । यस दिन नदि किनारमा गई शरीरमा लेसिलो पहेंलो माटो दलेर नुहाउँदा फोहोरजन्य कारणबाट आउने लुतो फालिन्छ भन्ने जनविश्वाश छ भने कसैले भान्टालाई दूलो पारेर चौबाटोमा फालिदिएर नुहाएमा समेत लुतोबाट छुटकारा पाइने जनविश्वास रहिआएको छ ।