‘जव आमा बनें–संसार जिते जस्तै लाग्यो’
संझना रिजालबिवाह गरेको केही समय बच्चा नजन्माउने सल्लाह अनुसार नै हामीले ३ बर्ष बितायौं । तीन बर्षमा हाम्रा निर्णय नै बदलिने धेरै किसिममा घटना भए । घर परिवारको दवाब, कोही आफन्त भेटिने बित्तिकै अब त बच्चा जन्माउन पर्यो, ढिला भएन र रु भन्ने प्रश्नको दिनहुँ चार पाँच जनालाई जवाफ दिनु पर्ने ।
यता म भने ब्याचलरको पढाई सकिन एक बर्ष मात्र बाँकी अनि भर्खरै मात्र राम्रै ठाँउमा जागिर सुरु गरेकीले अझैं एक बर्ष पर्खिउँ भन्ने मानसिकतामा थिएँ । तर त्यस्तो भएन । अब त श्रीमानले पनि बच्चा जन्माउने इच्छा व्यक्त गर्न थालेपछि अन्तत हामीले बच्चा जन्माउने निर्णय लियौं । जब पहिलो पटक आमा बन्दै छु भन्ने थाहा पाएँ, अरुले भने जस्तो बच्चा पेटमा आएको थाहा पाउँदा अत्याधिक खुसी लागेन, सायद मलाइ रहर थिएन ।
तर, बिस्तारै पेटमा आएको बच्चाको ख्याल हुन थाल्यो । माया पनि लाग्न थाल्यो विस्तारै । बच्चा पेटमा आएको एक महिना नबित्दै श्रीमान परदेश लाग्नु भयो । अब आमा अनि बाबा दुबैको स्याहार म एउटैले गर्नु थियो, पेटमा हुर्किरहेको बच्चाको । तीन पुस्ता भएको घर, जागिर, बिदाको दिन खेत यसरी नै बित्थे दिनहरु । घर परिवारलाइ खुसी, भर्र्खरै सुरु गरेको काममा पनि राम्रो छाप पार्नु थियो । अनि आफ्नो पेटमा भएको बच्चाको ख्याल गर्नु थियो ।
पहिले आँखै नहेरी कुन बेला काम सकौं भनेर दगुर्ने म अब भने अलि चाँडै हिँड्दा पनि पेटको बच्चालाई गार्हो पो भयो कि भनेर सोच्ने भएछु । जब खुुट्टामा ठेस लाग्थ्यो खुट्टामा कति चोट लाग्यो भनेर हेर्नु अघि मेरो हात पेटमा पुग्थ्यो–ला उसलाइ गार्हो त भएन भन्ने लाग्थ्यो ।
एउटा अविस्मरणीय घटना । बच्चा पेटमा आएको ६ महिना पछि दोश्रो पटक भिडियो एक्सरे गर्न डाक्टरले भनेपछि नजिकैको क्लिनिकमा गएँ । एक्सरे पछि डाक्टरको जवाफले तीन चार घण्टा आत्तिएँ । मैले पहिलो पटक महसुस गरें कि आफ्नो सन्तानलाई आमाले कति माया गर्छिन भन्ने । डाक्टर भन्दै थिए–यो बच्चाको त नाक मुख नै देखिंदैन । अब चार घण्टा पछि फेरि हेर्नुपर्छ । चार घण्टामा मैले ६ महिना सम्म नसोचेको, महसुस नगरेको कुराहरु महसुस गरें । त्यो चार घण्टा आफुले बिताएको त्यति बेला सम्मको जिन्दगी भन्दा लामो भयो । फेरि भिडियो गरेर हेर्दा सबै ठिक देखियो । खुसीको सिमा नै रहेन ।
हरेक क्रियाकलाप गर्दा सबैभन्दा पहिले बच्चाको बारेमा सोचिने मन फरुङ्ग भयो । आहा त्यो पल । कार्यालयमा अरु दिन भन्दा केही बढी नै काम थियो । आफ्नो तीन दिन पछिको काम आजै सक्ने धुनमा साँझ परेको पत्तै भएन । साँझमा साथीकोमा निम्तो मान्न जानु थियो । घर फर्कंदा करिब साढे नौ बजेको हुँदो हो । डाक्टरको अनुसार अझै एक महिना बाँकी थियो बच्चा जन्मने डेट आउन । मलाइ खै किन हो बेग्लै महसुस भैरहेको थियो । कता कता दुखे जस्तो, आफ्नो दुखाइ भन्दा पनि बच्चालाई केही अप्ठ्यारो पो भयो कि भन्ने चिन्ताको बिच बेडमा पल्टिएँ । अब मेरो दुखाइ अझै गहिरो हुँदै थियो । एक महिना बाँकी छ । त्यसै दुखेको होला भन्ने सोचें । आमाहरु सुतिरहनु भएकोले खासै बोलाउन पनि मन लागेन । बेलाबेला मुर्छा पर्दे बित्यो त्यो रात । उज्यालो भए पछि सासु आमालाई भनें ।
खै कसरी थाहा पाउनुहुन्छ हजुरआमाले कुन्नी रु मेरो पेट छामेर बच्चा जन्मिने बेला हुन लागिसकेछ छिट्टै अस्पताल लैजान पर्यो भन्नुभयो । महिना नपुगेको त्यहाँ माथि बच्चाको तौल कम छ भन्दै हेटौंडा अस्पतालमा राख्न नमानेपछि भरतपुर सरकारी अस्पतालमा पुग्यौं । पुगेको आधा घण्टामा नै म पूर्ण बने । अर्थात् म आमा बनें । जब पहिलोपटक उसलाई स्पर्श गरें–आहा अघिसम्मको त्यो पीडा कहाँ भाग्यो भाग्यो । संसार कै खुसी मान्छे मै हुँ जस्तै लाग्थ्यो ।
बच्चा धेरैबेर मसँग नराखी नर्सहरुले सफा बनाउन लगे । कस्तो अचम्म अघिसम्म मेरो ज्यान बचाउने भगवान सम्झने ती नर्सहरुले मेरो बच्चालाई दुखाए होला भनेर उनीहरुसंग नै रिस उठ्न थाल्यो । बेलाबेला उसको रुवाइ सुन्थें । ओहो कस्तो पिडा । आधा घण्टापछि एकजना नर्सले बच्चा मेरो काखमा राख्दै–हेर्नुस त तपाईको नानी भनेपछि पो थाहा पाएँ छोरी जन्मेकी रहिछे । तँपाइको छोरी भन्ने शब्द नै कति प्यारो, ज्यान अशक्त थियो तर पनि मन उडिरहेको थियो । साँच्चै आमा बन्नु भनेको संसारकै महान काम हो म, महान छु यस्तै अनुभूुति भैरहेको थियो । उसलाई हेरेर नअघाइने, छोएर नथाकिने शब्दमा प्रस्तुत गर्न नसकिने खुसीहरु । कस्तो अचम्म उसलाई देख्ने बित्तिकै कति सपना बुनिसकेछु उसको नाममा । त्यतिबेला आफ्नी आमाको याद, उहाँ प्रतिको माया, हामीलाइ जन्माउँदा पाउनु भएको कष्ट आफुले महसुस गर्दै थिएँ । आमाको याद धेरै आइरहेको थियो ।
बच्चा जन्मेको एक घण्टा भित्र स्तनपान गराउनु पर्छ भन्ने कुरा धेरै ठाँउमा पढेकी थिएँ । म पनि प्रयत्न गर्दै थिएँ तर उसले सकिरहेकी थिइन । एघार दिनसम्म उसले ल्याक्टोजन खानु पर्यो । जतिपटक ल्याक्टोजन खुवायो त्यत्ति नै पीडा हुन्थ्यो मलाई । मनमा अत्यास आउँथ्यो–कतै कहिल्यै पनि मैले स्तनपान गराउन नसक्ने त हैन रु एघार दिनमा अस्पताल गएर सिरिन्ज मार्फत निप्पल निकालेपछि बल्ल उसले पहिलो पटक स्तनपान गरि । बल्ल मैले पूर्ण तवरले आमा भएको महसुस गरें । अहिले पछुतो लाग्छ म किन खुसी थिइन यति राम्री छोरी मेरो कोखमा आउँदा भनेर । अब मेरो हर सपना, लक्ष्य, वर्तमान भबिष्यमा मेरी छोरी छ । हर पिडा भुल्छु जब उ मुस्कुराएको देख्छु ।
जनतापाटीबाट