मकवानपुरका ६६ प्रतिशतले मात्रै लिए दोश्रो किस्ता

गुगलपाटी संवाददाता हेटौंडा,२ साउन
२ श्रावण २०७५ ०२:२३

भूकम्प प्रभावितहरुले दोस्रो किस्ता प्राप्त गर्ने सोमबार अन्तिम दिनसम्म मकवानपुरमा जम्मा ६६ प्रतिशतले मात्र दोस्रो किस्ता लिएका छन् । सोमबारसम्म जिल्लाका जम्मा १६ हजार ५६ परिवारले दोस्रो किस्ताको रकम प्राप्त गरेको जिल्ला अनुदान व्यवस्थापन इकाईले जानकारी दिएको छ । जसमा दोस्रो किस्ता भुक्तानीको लागि १६ हजार ५ सय ७ परिवारले निवेदन दिएको कार्यालयले जनाएको छ ।

मकवानपुरमा ३१ हजार ८ सय १७ भुकम्प प्रभावित लाभग्राही रहेकोमा हाल १ हजार ४ सय ४३ गुनासो फछ्र्यौटबाट पुन थप भएर जिल्लामा हाल ३३ हजार २ सय ६६ जना रहेका छन् । यस अघि पनि जिल्लामा गुनासो फछ्र्यौट मार्फत ४ हजार ३ सय ४६ जना लाभग्राही थप भएका थिए । सरकारले भुकम्प प्रभावितका लागि ठोस कार्यविधि र कानुन बनाउन नसक्दा प्रभावितको संख्या बढ्दै गएको छ भने किस्ता लिनेको संख्या भने न्युन रहेको देखिन्छ । दोस्रो किस्ताका लागि निवेदनसहित माग गर्ने समय सोमवारसम्म मात्र थियो ।

मकवानपुरमा ३३ हजार २ सय ६६ लाभग्राही मध्ये हाल सम्म २५ हजार २ सय ८६ जना अर्थात ९७९ प्रतिशत० ले अनुदान सम्झौता गरेका छन् । जसमध्ये २४ हजार ३ सय ३० जना ९९६ प्रतिशत० ले पहिलो किस्ताको रकम लिएका छन् भने ७ हजार ९ सय ४८ अर्थात २६ प्रतिशत ले मात्र तेस्रो किस्ता लिएका छन् । तेस्रो किस्ता भुक्तानीको लागि ८ हजार ९ सय ७७ जनाले निवेदन दिएको जानकारी दिईएको छ । त्यस्तै मकवानपुरमा प्रवलीकरण लाभग्राहीको संख्या ८ हजार ४ सय ९६ मध्ये हालसम्म २ हजार ३ सय २ परिवारको प्रवलीकरण अनुदान सम्झौता भएको र प्रवलीकरण प्रथम किस्ता २ हजार २५ परिवारले लिएको कार्यक्रममा जानकारी दिईएको छ । हालसम्म १६ हजार ५ सय ७ परिवारले दोस्रो किस्ता भुक्तानीका लागि निवेदन दिएका छन् । भने ८ हजार ९ सय ७७ जनाले तेस्रो किस्ताका लागि निवेदन दिएका छन् । यस्तै, हालसम्म जिल्लाका ७ हजार ८ सय ३५ वटा घर निर्माण सम्पन्न भएको र भौगर्विक जोखिममा परेका १४ घर मध्ये १० वटा घरहरुको स्थानान्तरण गरिएको इकाई प्रमुख सोमराज तिमल्सिनाले जानकारी दिनुभयो । दोस्रो किस्ता लिने समय सकिएपछि अब के हुन्छ भन्ने अन्यौलता बढेको कार्यक्रमका सहभागिहरुले बताएका थिए । इकाई प्रमुख तिमल्सिनाले पुननिर्माण प्राधिकरणले निर्णय गर्ने बताउनुभयो ।

मकवानपुरमा गैरसरकारी संस्थाले १ हजार २ सय ६२ लाभग्राहीलाई रकम उपलब्ध गराएका छन् । तेस्रो किस्ता ७ हजार ९ सय ४८ लाभग्राहीले वुझेर लगेका छन् । एक हजार १ सय ९१ लाभग्राहीलाई गैरसरकारी संस्थाले तेस्रो किस्ता उपलब्ध गराएको छ । जिल्लाको थाहा नगरपालिकामा पर्ने टिष्टुङ र आग्रामा टियर फन्डको सहयोगमा राडो नेपालले ६ सय वटा घर निर्माण गरिसकेको छ भने अमेरिकन रेडक्रसको सहयोगमा रेडक्रस मकवानपुरले कैलाश गाउँपालिकाको गोगनेमा ६ सय वटा घर निर्माण गरिरहेको छ । ३ सय भन्दा वढी घर निर्माण गरेर लाभग्राहीहरु बसोवास गर्न थालिसकेका छन् । अझै पनि मकवानपुरमा ८ हजार २३ लाभग्राहीसंग अनुदानका लागि सम्झौता हुन सकेको छैन । लालपुर्जाविहिन, सुकुम्वासीलगायतका कारणले राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणसंग आवास पुर्ननिर्माणका लागि सम्झौता हुन नसकेको हो ।

सम्मृद्ध समाज दैनिकबाट