अदालतमा मुद्धा बिचाराधिन : प्रदेशसभामा राजधानीबारे प्रतिवेद पेश हुँदै
गुगलपाटी संवाददाता हेटौंडा,३ साउनतीन नम्बर प्रदेशको आज हुने प्रदेशसभा बैठकमा प्रदेश राजधानीबारेको प्रतिवेदन पेस हुँदैछ । प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदन आज दिउँसो दुई बजे बस्ने प्रदेशसभा बैठकमा पेस हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।
समितिका सभापति दीपक निरौलाले सभामुखलाई बुझाएको प्रतिवेदन प्रदेशसभाको बैठकमा पेस गर्ने कार्यसूची तय भएको बताए । प्रतिवेदन पेस भए पनि निर्णयार्थ प्रस्तुत गर्न भने केही समय लाग्ने बताइएको छ ।
गत जेठ २६ गते प्रतिवेदन पेस गर्दै समितिले प्रदेश राजधानीका लागि ५ जिल्ला सिफारिस गरेको थियो । वर्णानुक्रमअनुसार काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुर सिफारिस गरिएको छ । प्रतिवेदनमा जिल्लाको स्थिति स्पष्ट उल्लेख गरिए पनि प्राथमिकता क्रम भने तोकिएको छैन ।
यता, समिति गठन गर्ने प्रदेशसभाको निर्णयविरुद्ध उच्च अदालत पाटनको हेटौंडा इजलासले कारण देखाउ आदेश जारी गरे पनि प्रक्रिया नरोकिने प्रदेशसभा सचिवालयले जनाएको छ । सभामुख सानुकुमार श्रेष्ठले संविधानमा उल्लेख भएको अधिकार प्रयोग भएकाले कतै बाधा नपुग्ने बताए ।