काठमाण्डौंले उचाल्यो महिला राष्ट्रिय फुटबलको उपाधि
गुगलपाटी संवाददाता हेटौँडा ३ साउनहेटौंडामा सम्पन्न महिला राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि काठमाण्डौंले चुमेको छ । हेटौंडा ४ स्थित लोकतान्त्रिक हुप्रचौरमा बिहीबार दिउँसो भएको फाइनल भिडन्तमा सिन्धुपाल्चोकलाई १–० गोल अन्तरले हराउँदै काठमाण्डौंले उपराष्ट्रपति महिला राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिमाथि कब्जा जमाएको हो ।
काठमाण्डौंका तर्फबाट ४८ औं मिनेटमा सुनकला राईले गरेको गोल नै उपाधिको लागि निर्णायक बन्यो । निकै प्रतिष्पर्धात्मक खेलमा दुवै जिल्लाले केही राम्रा मौका पाएपनि गोल भने हुन सकेन । खेलको वुमेन अफ दी म्याच सिन्धुपाल्चोकका क्याप्टेन रजनी श्रेष्ठ घोषित भइन् ।
सेमीफाइनलमा सिन्धुपाल्चोकले ताप्लेजुङलाई र काठमाण्डौले मकवानपुरलाई हराउँदै फाइनल भिडन्त पक्का गरेका थिए । प्रतियोगिताका विजयी खेलाडीहरुलाई प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल, एन्फाका महासचिव इन्द्रमान तुलाधरलगायतले पुरस्कार वितरण गरे ।
सामाजिक विकास मन्त्री दुलालले खेलले भाइचाराको विकाससंगै मुलुकलाई विश्वभर चिनाउन मद्दत गर्ने भन्दै यसको विकासमा सबैको सहयोग आवश्यक रहेकोमा जोड दिए । प्रतियोगिताको समापनमा प्रदेशसभा सदस्य मुनु सिग्देल, एन्फा महासचिव इन्द्रमान तुलाधर, मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष माधव तिमल्सिनालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
मकवानपुर जिल्ला फुटबल संघ अध्यक्ष टीकाराम लामाको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रदेशसभमा सदस्य प्रेम बहादुर पुलामी,खेल सम्बद्ध बिभिन्न ब्यक्तिहरु उपस्थित थिए । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना र मकवानपुर जिल्ला फुटबल संघको समन्वयमा भएको प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले १५ हजार रुपैंया सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । छनौट प्रतियोगिता भएपनि मकवानपुर जिल्ला फुटबल संघले पुरस्कारको व्यवस्था गरेको हो । प्रतियोगितामा मकवानपुरसहित १३ जिल्लाको सहभागिता रहेको थियो । प्रतियोगिताबाट छानिएका खेलाडीहरुले बिभागीग महिला फुटलव टोलीहरुसँग प्रतिस्पर्धा गर्नेछ ।