हेटौंडा कपडा उद्योग चलाउला नेपाली सेनाले ?

गुगलपाटी संवाददाता हेटौंडा
४ श्रावण २०७५ १०:१४

सरकारले नेपाली सेनालाई संलग्न गराएर हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न अध्ययन सुरु गरेको छ । कपडा उद्योग सञ्चालनका लागि गठित सेनाका अधिकृतसहितको कार्यदल अध्ययनका लागि हेटौंडास्थित उद्योगमा पुगेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शत्रुघनप्रसाद पुडासैनी संयोजकत्वको कार्यदल हेटौंडा कपडा उद्योगमा पुगेर अध्ययन थालेको छ ।झण्डै एक साताअघि कपडा उद्योगलाई सञ्चालनमा ल्याउनेबारे अध्ययन गर्नका लागि नेपाली सेनाको तर्फबाट ३ जना र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयको तर्फबाट ४ जना गरी ७ सदस्यीय संयुक्त समिति बनाइएको थियो ।

समितिले उद्योगको मेसिन र पूर्वाधार अवस्था लगायतका विषयमा अध्ययन गर्ने सहसचिव पुडासैनीले जानकारी दिए । उनकाअनुसार सञ्चालन र लगानीको मोडालिटीको सिफारिससहित केही दिनभित्रै कार्यदलले प्रतिवेदन तयार गर्नेछ ।‘हालको मेसिनरी र पूर्वाधार उद्योग चलाइहाल्न सकिने अवस्थामा छरछैन हेर्दैछौं । आवश्यकता के(के छन् भनेर हामीले सिफारिस गछौं,’ पुडासैनीले भने,’आथिर्क तथा प्राविधिक रुपमा सम्भाव्य हुने भए उद्योग चल्छ ।’ यो उद्योग सेनालाई चलाउन दिने सरकारको तयारी छ ।

उद्योगको क्षमता

यही प्रतिवेदनका आधारमा कपडा उद्योग सञ्चालन गर्न आवश्यक प्रक्रिया अघि बढाइने उद्योगमन्त्री मात्रिकाप्रसाद यादवले जानकारी दिएका छन् ।सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौंडा कपडा उद्योग २०५७ सालदेखि बन्द छ । २०३५र३६ देखि व्यावसायिक रुपमा उत्पादन शुरु गरेको कपडा उद्योगको दैनिक ३६ हजार मिटर कपडा उत्पादन गर्नसक्ने क्षमता छ । बन्द हेटौडा कपडा उद्योग १ सय ८८ रोपनीमा फैलिएको छ ।नेपाली सेनाले दुई वर्ष अघि नै बन्द हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने प्रस्ताव गरेको थियो । ०६९ माघ १२ को मन्त्रिपरिषद बैठकले हेटौडा कारखानाको सम्पत्ति शेयर लगानीका रुपमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा गाभेको थियो ।

पटक पटकको प्रयास

बाबुराम भट्टराई अर्थमन्त्री भएको समयमा पनि उद्योग चलाउन तयारी गरिएको थियो । तर, राजनीतिक अस्थिरताका कारण त्यो योजना तुहाइयो । पछि नवीन्द्रराज जोशी उद्योगमन्त्री हुँदा पनि यस्तै अध्ययन गर्न समिति बनाइएको थियो ।कपडा उद्योग चीन सरकारको सहयोगमा स्थापना भएको थियो । नेपालमै ठूलो कपडा उत्पादक रहेको यो उद्योग लामो समयसम्म नाफामा सञ्चालन भएको थियो ।तर, राजनीतिक हस्तक्षेप र फितलो व्यवस्थापनका कारण बन्द भएको थियो । प्रत्यक्ष १५ सयभन्दा बढीलाई जागिर खुवाउने यो उद्योगमा पनि चरम राजनीतिकरण भएको थियो ।

कर्मचारीहरुको सेवासुविधा वृद्धिको माग पुरा गर्नु साटो बन्द गर्न उपयुक्त ठान्यो, सरकारले । जबकी, आन्दोलनका शृंखला शुरु हुनु अघिसम्म उद्योग नाफामा थियो ।

सुरक्षा निकायको पोशाक उत्पादक 

उक्त उद्योगका धेरै मेसिनहरु अहिले पनि चलाउन सकिने अवस्थामा रहेको विभिन्न अध्ययनले देखाएका छन् । उद्योग सञ्चालनमा आउनासाथ पहिलो चरणमा सरकारी पोशाक, सेना, प्रहरी र विद्यालयको पोशाक उत्पादन गर्ने योजना सरकारको छ ।सेना आफैं पनि यसमा संलग्न हुने भएकाले उद्योग चलाउन समस्या नहुने अपेक्षा सरकारको छ । कपडा उद्योगमा रहेको औजार तथा उपकरणमध्ये करिब ४० प्रतिशत अहिले नै प्रयोग गर्न सकिने अवस्थामा छन् ।तर, झण्डै ३० प्रतिशत औजार तथा उपकरणको मर्मत गर्नुपर्ने अवस्थामा छन् । ३० प्रतिशत हाराहरीका मेसिन काम नलाग्ने अवस्थामा रहेको यसअघिको अध्ययनले देखाएको थियो ।

प्रधानमन्त्रीको पनि चासो

यो उद्योग सञ्चालनमा ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चासो दिएका छन् । उनले केही समयअघि प्रदेशसभा ३ को बैठकलाई संबोधन गर्दै उनले नयाँ मेसिन ल्याएर कपडा उद्योग चलाउने बताएका थिए ।‘हेटौंडा कपडा उद्योग चलाइन्छ, त्यसका लागि नयाँ मेसिन ल्याइन्छ’ उनले भनेका थिए ‘यसमा प्राइभेट सेक्टर -निजी क्षेत्र_ पनि ल्याइन्छ ।’उनले कपडा उद्योग सरकारले मात्र चलाउँदा त्यसले प्रतिफल नदिने बताएका थिए । ‘सरकारी मात्र भयो भने घाँस हाल्ने कोही हुँदैन दूध खाने मात्र हुन्छ’ उनले भनेका थिए ।
अनलाइनखबरबाट